Kathmandu Press

यी १८ ठाउँ जहाँ रास्वपाले दिएन उम्मेदवारी

मेयरका लागि मात्रै होइन कीर्तिपुरका १ र ४ नम्बर वडाध्यक्षका लागि पनि रास्वपाले उम्मेदवारी दिएन।
यी १८ ठाउँ जहाँ रास्वपाले दिएन उम्मेदवारी
फाइल तस्बिर।

काठमाडौं, मंसिर २ । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनमा भाग लिने निर्णय गरेपनि उपनिर्वाचन हुने सबै ठाउँमा उम्मेदवारी दिएको छैन।

मंसिर १६ गते देशका  विभिन्न ४४ स्थानमा स्थानीय तह उपनिर्वाचन हुँदैछ। त्यसका लागि आइतबार मनोनयन दर्ता गरिएको छ।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा रास्वपाले ४४ मध्ये २६ ठाउँमा मात्रै उम्मेदवारी दिएको छ। अर्थात् १८ ठाउँमा रास्वपाले उम्मेदवारी दिएन।

यसपालिको उपनिर्वाचनलाई आगामी २०८४ मा हुने आमनिर्वाचनका लागि दलहरूको परीक्षणका रूपमा पनि हेरिएको छ। यद्यपि जनताको भरपूर समर्थन भएको दाबी गर्दै आएको रास्वपाले ४४ वटै स्थानमा उम्मेदवार भने उठाएन।

प्रतिष्ठा र परीक्षाको दृष्टीले महत्वपूर्ण मानिएको काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा पनि रास्वपा उम्मेदवारी दिनबाट पछि हटेको छ। रास्वपाले कीर्तिपुर नगर सभापति समेत रहेका जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेपनि अन्तिममा उम्मेदवारी नै नदिने निर्णयमा पुगेको हो।

मेयरका लागि मात्रै होइन कीर्तिपुरका १ र ४ नम्बर वडाध्यक्षका लागि पनि रास्वपाले उम्मेदवारी दिएन।

उम्मेदवारी नदिनुको कारण रास्वपाले खुलाएको छैन। रास्वपाले कुल १८ ठाउँमा उम्मेदवारी दिएन।

झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष, ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुख, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको अध्यक्ष, डाक्नेश्वरीकै ४ र १ नम्बर वडाध्यक्ष, रौतहटको इशनाथ-७, राजपुर-६  र गढीमाई-८ को वडाध्यक्षका लागि पनि रास्वपाले उम्मेदवारी दिएन।

त्यस्तै रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र २ नम्बर वडाको वडाध्यक्षका लागि पनि उम्मेदवारी दिएन।

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्ष, रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष र  कैलालीको जिसस प्रमुखका लागि उम्मेदवारी नदिएको रास्वपाले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

कोशी प्रदेशका ९ स्थानमा, मधेसका ७ ठाउँमा, बागमतीका ७ ठाउँमा, गण्डकीको एक ठाउँमा, लुम्बिनीका ६ ठाउँमा, कर्णालीका ८ ठाउँमा र सुदूरपश्चिमका ६ ठाउँमा उपनिर्वाचन हुँदैछ।

रास्वपाले कोशीका ७ ठाउँमा, मधेसका दुई ठाउँमा, बागमतीका ४ ठाउँमा, गण्डकीको एक ठाउँमा, लुम्बिनीको चार ठाउँमा, कर्णालीका ६ ठाउँमा र सुदूरपश्चिमको दुई ठाउँमा उम्मेदवारी दिएको हो।

यो पनिः ४४ मध्ये २६ ठाउँमा मात्रै दियो रास्वपाले उम्मेदवारी, कुन ठाउँमा को ? (सूची)

प्रकाशित मिति: १९:५८ बजे, आइतबार, मंसिर २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्