‘देशभक्त तानाशाह’ पढेपछि....
ऋतु आसिकजीको साहित्य लेखन, पत्रकारिता र सचेत नागरिक जीवनको म पचास बर्ष भन्दा बढि समय देखीको साछी छु। वहाँको कलममा निर्भीकता, इमान्दारीता, स्वाभिमान, स्वाधीनता प्रिय, सचेतन यस्ता जब्बर गुणहरू मैले देखेको छु।काठमाडौं, मंसिर १ : मैले पछिल्लो पटक पढेको पुस्तक ‘देशभक्त तानाशाह’। यो कवि ऋतु आसिकले लेख्नु भएका ४७ वटा कविताहरूको सङ्ग्रह हो। वहाँको सौजन्यबाट प्राप्त गरेर यो पुस्तक पढेको छु।
पुस्तकको नाम र पुस्तकको आवरणमा छापिएको आवरण चित्रले नै धेरै अर्थ बुझाउँछ। पुस्तकका ४७ कविता मध्ये देशभक्त तानाशाह एउटा कविता हो। यसै कविताको नामबाट पुस्तकको नाम राखिएको छ। यस अर्थमा पनि विवादै रहँदैन, यो महत्वपूर्ण कविता हो। साथै कविले आफै तौलिँदा पनि यो कविता अरू कविता भन्दा वजनदार ठहरिएको छ।
त्यसो त सबै कवितामा देश प्रेम, बर्तमान विसङ्गति, नेतृत्वमा रहेकाहरका बेइमानी र धोखा धडी, उनले विदेशीलाई मालिक मानेर गरेका राष्ट्रघातका लहरहरू, लगातारका देशद्रोहहरुको कैरन र विवरण आदि कवितामा छ। साथै कविको देशभक्ति पूर्ण मन र मस्तिष्कले पीडा बोध गरेको अभिव्यक्ति नै कवितामा छरिएको छ। वर्तमानका नेताहरू जे जस्ता कर्तुत गरेर सत्तामा अडिन सकेका छन् तिनको भन्डाफोर गरिएको छ। इतिहास र पुर्खाको बहादुरीको सम्झना गरिएको छ। नेपालीको शिर ठाडो परिएका घटनाको अभिनन्दन गरिएको छ।
बलिदानी प्रयासबाट जोगिएको मुलुकको वैभव विदेशीलाई बुझाउन र आफ्नो देशको अस्तित्व मेटाउने सम्मका कार्यमा सरिक अगुवा नेता प्रति कवितामा आक्रोश पोखिएको छ। उनका बेइमानीका विरुद्धमा विद्रोहको आव्हान गरिएको छ। उनलाई नाङ्गो पारिएको छ। यसरी कविताहरू नेताहरूको बेइमानीका ऐना बनेका छन्। भारतको सिमा अतिक्रमण, नाकाबन्दी, नदी नाला लिने सम्झौता, असमान सन्धि, विभिन्न हस्तक्षेप र व्यवहारको बर्णन र भत्र्सना गरिएको छ, कवितामा। विभिन्न आवरणमा उनलाई सेवा गर्ने तथा उनकै सोझो गर्ने नेताहरूको अनुहार नाङ्गो पार्न जमर्को गरिएको छ। यी कविताहरूले मुलुकको कुशासनलाई राम्ररी प्रदर्शन गरेका छन्। कुशासनको चाङ देखाएका छन्।
कविताहरू कुनै एक विषयमा केन्द्रित छैनन्। अनेक विषयमा छरिएका छन्। सबै विषयमा रहेका बेथिति, बेइमानी र षडयन्त्रहरूको प्रश्न उठेको छ। बेइमानहरूको आवरण सार्वजनिक गरिएको छ। निर्भीकताका साथ न्यायको आवाजलाई उठाइएको छ। दिल र दिमागले देखेका कुराहरु सिधै भनिएको छ। स्वाभिमानको बलमा निर्भीक भएर प्रश्नहरू उठाइएको छ। प्रश्नहरू यस्ता छन्, उत्तर नआएसम्म प्रश्न यथावत् रहने छन्। भोलिका सन्ततिले पनि प्रश्न गरि रहने छन् र बेइमानहरूले आर्जन गरेको लूटको धन अपुतालीका रूपमा खाने सन्तानहरूले पनि ती प्रश्नको सामना गरिरहनु पर्ने छ। दण्ड भोग्नु पर्ने छ। हो, बेइमानहरूका सन्तानलाई पनि अवैध धनले पोली रहनेछ।
हरेक कविताले उठाएको कुरामा धेरै लामो विवेचना हुनसक्छ। तसर्थ यो सानो लेखमा ती सबै कविताको विस्तृत विवेचना गर्न संभब छैन। खाली आसिकका कविताको प्रवृत्तिका बारेमा सारंसमा माथि चर्चा गरिएको हो। अझ यी कविताहरूका बारेमा यो पुस्तकको भूमिकामा विष्णु प्रभातले लेख्नु भएको विवेचना र चर्चा नै सटीक रहेको पाइन्छ। वास्तवमै कवि निम्न वर्गका मजदुर किसानहरूको पक्षमा, न्यायको पक्षमा, शोषणको विरुद्धमा, उभिएका छन्। उनले देशभक्तिको पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, स्वाभिमानको पक्षमा आवाज उठाएका छन्। उनले मुलुकको सीमा रेखा नाघेर अन्तर राष्ट्रिय ख्याति आर्जन महापुरुषको स्मरण गरेका छन्। त्यस्ता आदर्शका प्रतीकलाई पनि कवितामा उभ्याएका छन्।
कविले जीवन र जगतलाई सटीक रूपमा हेरेको पाइन्छ। कवितामा इतिहासको विश्लेषण छ। मुलुकका बर्तमनका पहाड जस्ता समस्या छन्। तिनको समाधानको गोरेटो खोजिएको छ र यस्तै परजीवी पाराले समस्या अझ फक्रने कुरामा पनि कवि सचेत छन्। देश बासीको जागरण र जुर्मुराहट अपेक्षा गरिएको छ। युवाहरू निर्यात भएर गाउँ र शहर खाली भएको छ।
उनलाई फर्कन आव्हान गरिएको छ। कविलाई इतिहास प्यारो छ। इतिहासका अनेक सन्दर्भहरू छन्, कवितामा। मुलुक उजाड पार्ने अहिलेका नायकहरू त मञ्चमा देखिँदैछन्। इतिहासमा शाहदात प्राप्त गरेकाहरु मेटिँदै गएका छन्। जीवन बलिदान गरेकाहरु, परिवर्तनका लागि रगत पसिना दिएकाहरुको त कतै नाम लिइँदैन। इटहरी तिमीहरू माथि गर्व गर्छ भन्ने कवितामा देखिएका श्याम भाइ गौतम, कुमार अधिकारी, रमेश विष्ट, मलेच्छी चौधरी, शेरबहादुर अम्बर, सम्राट तुम्बहाम्फे वसन्त सुवेदीहरू शायद आज गुमनाम छन्।
यी इटहरीका सपूतहरू त प्रतीक मात्र हुन्। यस्ता सपूतहरू मुलुकभरिका गाउँ र शहरमा छरिएका छन्। अनि मात्र थिलथिलो भएर पनि मुलुक बाँचेको छ। मुलुक भरि त्यस्ता फौज नजन्मेका भए र उनले रगत पसिना नबगाएको भए कहाँ मुलुक अहिले सम्म बच्थ्यो र ? माथि नै भनियो‚ पुस्तकको महत्वपूर्ण कविता त ‘देश भक्त तानाशाह’ नै हो। एउटै विषय र एकै भाव भूमिको जस्तै लाग्ने अर्को पनि कविता जोडिन्छ। त्यो हो दोस्रो नम्बरमा राखिएको ‘रोक्न सक्छौ भने रोक’ भन्ने कविता। कविले राजा महेन्द्रलाई देशभक्त र तानाशाह मानेका छन्। मुलुकमा यस विषयमा छलफल त चल्ला तर त्यत्रो ठूलो विवाद हुँदैन कि? राजा महेन्द्रलाई तानाशाह भन्न र मान्न त एउटै कदम र एउटै दिन पर्याप्त छ। त्यो हो, २०१७ साल पौष १ गते। त्यस पछिका पनि अनेक कदम र घोषणाले पुष्टि गर्दछन्। राजा महेन्द्र तानाशाह थिए।
अब उनको देशभक्तिको कुरा हेर्दा लाग्छ, उनका अनेक कार्य देशभक्त पूर्ण थिए। उनले मुलुकको उत्थानका लागि गरेका अनेकन् कार्य प्रशंसा योग्य तथा अहिले सम्म कुनै नेताले नगरेका कार्य त छँदेछन्। कुरा यतिमा मात्र सीमित रहँदैन। उनले नेपालको अस्तित्व जोगाउन गरेका कार्य र नेपालको इज्जत बढाउन विश्व रङ्गमञ्चमा गरेको प्रयत्न धेरै महत्वको छ। विदेशी सँग नझुक्ने अडानमा रहने राजा महेन्द्र नै हुन्। भाषा, साहित्य, अर्थतन्त्र र मुलुकको सर्वाङ्ग विकासका लागि उनको देशभक्ति पूर्ण आन्दोलन ऐतिहासिक छ। ‘गर्छिन् पुकार आमा रोइ कराइ जोडले’ भन्ने कविताका रचयिता राजा महेन्द्र देश भक्त हुन्।
कविले राजा महेन्द्रका यी र यस्तै अरू गुणलाई नियालेर राजा महेन्द्रलाई देशभक्त तानाशाह भनेका छन्। अझ पञ्चायत ढलेपछि, गणतन्त्र आए पछिका नेताका कुकर्मले कविलाई राजा महेन्द्रको देशभक्त प्रवृत्तिले धेरै छोएको छ। यो सञ्चय गर्नु पर्ने सम्पातिको बोध भएको पाइन्छ। कविको तत्कालको लेखनमा प्रायश्चित्त बोध भएको विषयमा एउटा प्रश्न उठ्न सक्छ। राजा महेन्द्रको देश भक्तिलाई र राजतन्त्रलाई एउटै दराजमा थन्क्याउन नमिल्ला। यस लेखकलाई लाग्छ, सबै राजा देशभक्त हुँदैनन्। अनि त नेपालका राजाहरूमा पृथ्वीनारायण शाह, महेन्द्र र वीरेन्द्रलाई जस्तो अरूलाई श्रीपेचले शोभा दिएन।
जे होस्, ऋतु आसिकजीको साहित्य लेखन, पत्रकारिता र सचेत नागरिक जीवनको म पचास बर्ष भन्दा बढि समय देखीको साछी छु। वहाँको कलममा निर्भीकता, इमान्दारीता, स्वाभिमान, स्वाधीनता प्रिय, सचेतन यस्ता जब्बर गुणहरू मैले देखेको छु। विभिन्न विधामा एक दर्जन बढि पुस्तकका स्रष्टा आसिकजीको बर्तमान परिवेशको यो कृतिलाई मैले धेरै महत्वको पाएको छु। यो कृतिले अहिलेको राजनीतिक रङ्गमञ्चका धेरै नायकहरूलाई नाङ्गो पारेको छ। सौन्दर्य र शिल्प जडिएका आसिकजीका अरू रचना र कृतिहरू पढ्न पाउने मेरो रहर पुरा हुने विश्वासमा छु।
(साहित्यकार उदाशी वरिष्ठ अधिवक्ता हुन्)