कीर्तिपुरमा रास्वपा पछि हट्दा को-को छन् प्रतिस्पर्धामा?
२० जना उम्मेदवार मैदानमाकाठमाडौं, मंसिर २। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन दर्ता सम्पन्न भएको छ।
देशभरीका विभिन्न ४४ ठाउँमा जिल्ला समन्वय समितिदेखि वडाध्यक्षसम्मका पदका लागि आइतबार विभिन्न दलका र स्वतन्त्रतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन्।
४४ स्थानमध्ये काठमाडौंको कीर्तिपुर नगरपालिकामा राजनीतिक दलदेखि नागरिकहरुको पनि विशेष चासो छ। राजधानीको नगरपालिकामा जित हासिल गर्नु सबै दलहरुको प्रतिष्ठाको विषय पनि हो।
यसलाई दलहरुको परीक्षणका रूपमा पनि लिइएको छ।
निर्वाचन आयोगका अनुसार कीर्तिपुर नगरपालिकाको मेयरका लागि २० जनाले उम्देवारी दर्ता गरेका छन्।
प्रमुख दलबाहेक स्वतन्त्र उम्मेदवारी दिनेको सूची पनि लामै छ।
प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी भने कीर्तिपुरबाट पछि हटेको छ। रास्वपाले कीर्तिपुर नगर सभापति समेत रहेका जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो।
यद्यपि मनोनयन दर्ताको दिन भने रास्वपा कीर्तिपुरमा उम्मेदवारी नदिने बरू अन्य स्वतन्त्र व्यक्तिलाई समर्थन गर्ने निष्कर्षमा पुगेपछि कार्की उम्मेदवार दर्ता गराउनै गएनन्।
पार्टीको निर्णय र निर्देशन पालना गरेर उनी घरमै बसे। योसँगै स्थानीय तह निर्वाचनमा भाग लिने निर्णय गरेको चौथो ठूलो दल भएर कीर्तिपुरमा उम्मेदवारी नदिएपछि सामाजिक सञ्जालदेखि सञ्चारमाध्यमसम्मले रास्वपामाथि विभिन्न टीकाटिप्पणी गरेका छन्।
रास्वपा बाहिरिएपनि कीर्तिपुरमा यसपालि मुख्य तीन दल र अरू स्वतन्त्र उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
यहाँ स्वतन्त्र उम्मेदवारमध्ये राजमान महर्जन बलियो मानिन्छन्। कीर्तिपुरमै रेस्टुरेन्ट चलाएका राजमान सफाइ अभियान्ता हुन्। उनले सफाइकै कारण कीर्तिपुर क्षेत्रमा राम्रो छबि बनाएकाले यसपालि उनको दाबेदारी बलियो मानिएको छ।
कीर्तिपुरमा यसअघि कांग्रेसबाटै मेयर चुनिएका थिए। यसपालि कांग्रेसले कृष्णमान डंगोललाई उम्मेदवार बनाएको छ। त्यस्तै नेकपा एमालेले सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रले शिवशरण महर्जन, राप्रपाले ध्रुव महर्जन, जसपा नेपालले दिपक महर्जन (हनी) लाई उम्मेदवार बनाएको छ।
जनमतबाट केशव श्रेष्ठ, जसपा नेपालबाट दिलकुमार महर्जन, एकीकृत समाजवादीबाट भानु रिजाल, नेपाल मजदुर किसान पार्टीबाट श्रीकृष्ण महर्जन छन्।
स्वतन्त्र उम्मेदवारहरूमा आनन्द महर्जन, कविकुमार महर्जन, दिनेशकुमार अधिकारी, धर्मरत्न मानन्धर, नरेश श्रेष्ठ, नरेशराज पाण्डे, नवरथ कुमार बानिया, प्रेमबहादुर महर्जन, मिम महर्जन, रामकृष्ण महर्जन छन्।
उम्मेदवारी दिएकाहरूमाथि दाबी विरोधमा उजुरी दिन भोलि मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ।
सोमबार नै अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।