समाचारमा अनधिकृत हस्तक्षेप अपराध हो
अहिले देश लकडाउनमा छ, जनता घरभित्रै बस्न बाध्य छन्। थुनिएर बस्नु परेकाले नेपालीहरूले भित्रभित्रै गुम्सिइएको अनुभूति त गरेका छन् नै, त्योभन्दा बढि चिन्ता अहिले उनीहरुला....
अहिले देश लकडाउनमा छ, जनता घरभित्रै बस्न बाध्य छन्। थुनिएर बस्नु परेकाले नेपालीहरूले भित्रभित्रै गुम्सिइएको अनुभूति त गरेका छन् नै, त्योभन्दा बढि चिन्ता अहिले उनीहरुलाई राज्यको चालाबारे छ।
कोरोना भाइरसका कारण नेपालीहरूले यसअघि कहिल्यै नभोगेको विषम परिस्थितिको सामना गर्नु परेको सबैलाई विदितै छ। यस्तो वेला देश चलाउने केही नेता, कर्मचारी र तिनका आसेपासेहरू भने कमाउने दाउमा छन्।
महामारीको मौका छोपी लुट मच्चाउनेहरूको कर्तुत नङ्ग्याउनु प्रेसको दायित्य हो। यही दायित्वबोधबाट निर्देशित भई काठमाडौंप्रेसले गत मंगलबार (चैत १८ गते) एक समाचार छापेको थियो–महँगोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता।
समाचारको सार यत्ति हो–सरकारले कोरोना भाइरस महामारी नियन्त्रण गर्ने नाउँमा एक निजी कम्पनीमार्फत् विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड नपुगेको र नेपाली स्वास्थ्यकर्मीहरूले पनि गुणस्तरमा शंका गरेको स्वास्थ्य सामग्रीहरू चीनबाट किन्दै छ, त्यो पनि बजार भाउभन्दा निकै उच्च मूल्यमा। र, ती सामग्रीहरूको मूल्य उच्च हुनुको कारण हो – बिचौलियाहरूको संलग्नता। यो महङ्गो ‘डिल’मा बिचौलियाहरूलाई प्रवेश गराउँनमा रक्षामन्त्रीका छोरा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारका छोरा संलग्न छन् भन्ने कुरा समाचारमा छ।
सहि समाचार पेश गर्ने हाम्रो कर्म हो, हामी यसलाई आफ्नो कर्तव्य मान्छौं र समाचारको सत्यताप्रति हामी सँधै दृढ रहन्छौँ। आउने दिनमा यो समाचारको फलो–अप त गर्छौं नै, अन्य भ्रष्टाचारका कुकर्मलाई पनि उदांग पार्ने प्रयत्न गरि नै रहनेछौँ। प्रकाशित समाचारमा चित्त नबुझे खण्डन गर्ने, प्रेस काउन्सिल जाने र कानूनी उपचार खोज्ने अनेक उपायहरू हुँदाहुँदै हामीमाथि यस्तो प्रहार गरियो, जुन नेपालको पत्रकारिता इतिहासमै पहिले कहिल्यै भएको थिएन।
हाम्रो साइटको सी प्यानलमा अनधिकृत रुपमा प्रवेश गरी हाम्रो समाचार नै डिलिट गरियो। प्रेसमाथि यस्तो बलात् प्रहार जो कोहीले सजिलै गर्न सक्दैन। यसका लागि राज्यको आड–भरोसा, आशिर्वाद र संरक्षण चाहिन्छ। यसैले, यो काठमाडौंप्रेसको एउटा समाचार डिलिट गरिएको घटना मात्रै होइन। यो त सिङ्गो नेपाली प्रेस जगतमाथि नै आउन लागेको अनिष्टको पूर्व संकेत हो।
यस्तो खालको अपराधिक काम प्राविधिक कदम मात्र हो भनेर मान्न हामी तयार छैनौं। यस्तो कुकर्म बालुवाटार र प्रधानमन्त्रीका सल्लाहकारहरुको दवावबिना सम्भव छ जस्तो हामीलाई लाग्दैन।
त्यसैले, यस घटनामा संलग्न जो कसैलाई कारबाही गर्नु सत्तासिन दल र सरकारको कर्तव्य हो। जबसम्म गलत काम गर्ने माथि कारबाही हुँदैन, तबसम्म यस्ता कुकर्म जारी नै रहन्छ।
अहिले देशमा प्रेस स्वतन्त्रता त छ, तर प्रेस (प्रकाशन) पछिको स्वतन्त्रता छैन भन्ने त हामीमाथिको आक्रमणले फेरि प्रष्ट पारेको छ।
हाम्रो समाचारमा नाम उल्लेख गरिएका एक पात्र हुन् – प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अली। रक्षामन्त्रीका छोरा र प्रधानमन्त्रीका सल्लाहकारका छोरासँगै उनी पनि विभिन्न ‘डिल’हरूमा संलग्न छन् भन्ने कुरा समाचारमा छ। उनले तथ्यहरू प्रस्तुत गरी हाम्रो समाचारलाई आधारहीन प्रमाणित गर्न सक्थे। तर, उनले त्यसो नगरी चोर बाटो अपनाए–आफ्नो लगानी रहेको प्यारेन्ट कम्पनी एफवान सफ्टअन्तर्गतको शिरान टेक्नोलोजिजमार्फत् हाम्रो समाचार नै डिलिट गराएर।
शिरान टेक्नोलोजिजलाई हामीले काठमाडौंप्रेसको साइट बनाउने काम दिएका थियौँ। हामी उसका ग्राहक हौँ। तर, उसले हाम्रो विश्वास तोड्दै हाम्रो घर (साइट) भित्र पसेर हाम्रो सम्पत्ति (समाचार) उडायो। केही बेर साइटमा नयाँ समाचार हाल्न नसक्ने बनायो। हामीले त्यसलाई सार्वजनिक चासोको मुद्दा बनाएपछि उसले ‘गलत सूचना’का कारण ‘त्रुटि हुन गएको’ भन्दै ‘माफी’ मागेको छ।
तर, हाम्रो प्रश्न छ–गलत सूचना भनेको के हो? कसले दियो? यो हिम्मत उसलाई कहाँबाट आयो? राज्यको आड–भरोसाले?
एकातिर महामारीमा जनताको जीउ–धनको रक्षा गर्नुपर्ने राज्यका मन्त्री र अधिकारीहरूले आपतको मौका छोपी लुटमा लागेर जनताका विश्वासमा कुठाराघात गरेका छन्, अर्कोतिर त्यही राज्यको आड–भरोसा पाएको एक व्यक्तिले आफ्नो पहुँचको दुरुपयोग गर्दै काठमाडौंप्रेसको घाँटी निमोठी सिङ्गो नेपाली प्रेस जगतलाई तर्साएका छन् ।
यो प्रकरणमा लोकतन्त्र र प्रेस स्वतन्त्रतासँगै साईबर सुरक्षासँग सम्बन्धित केही पेचिला प्रश्नहरू पनि उठेका छन्। जुन कम्पनीले हाम्रो साइटको समाचार डिलिट गर्यो, त्यही कम्पनीले नेपालका अधिकांश बैंक र वित्तीय संस्थाका साइट र एप्सहरू बनाएका छन्। यी बैंक–वित्तीय संस्थाको कन्ट्रोल प्यानलमा उसको एक्सेस छ। उसैले बनाएको डिजिटल वालेट ‘इसेवा’मार्फत धेरै नेपालीले दैनिक आर्थिक कारोबार गरिरहेका छन्। अन्य डिजिटल माध्यममा पनि उसैको पहुँच र नियन्त्रण छ। आज हाम्रो साइटभित्र छिरेर मनपरी गर्न सक्ने कम्पनीले भोलि तपाईं पाठकको खाता रहेको बैंकको साइटभित्र पसेर जथाभावी गर्न सक्दैन भन्ने विश्वास कसरी गर्ने?
हाम्रो डिलिट भएको समाचार त ‘अन डू’ भयो, तर यो ‘इसेवा’ र उसको प्यारेन्ट कम्पनीले गरेको विश्वासघातको ‘अन डू’ कसरी हुन्छ?
कम्पनी भनेको कृत्रिम मानव झैं हो। उसले पनि कानून र नैतिकताको बन्धनभित्र बस्नुपर्छ। शिरानटेकले जे गर्यो, त्यो उसले भने झैं केबल एक ‘त्रुटि’ होइन। यो एक अपराध हो। आज काठमाडौंप्रेसलाई जे भएको छ, त्यो भोलि जुनसुकै मिडिया र अन्य कम्पनीलाई पनि हुन सक्छ। त्यसैले यो अपराध सजायभोगी हुनुपर्छ।