Kathmandu Press

स्वतन्त्रता सीमित गरेर आउँदैन समृद्धि

समृद्धि एक वहुआयामिक अवधारणा हो र यसबारे व्यक्ति, समूह वा समुदायपिच्छे फरक–फरक बुझाइ हुनसक्छ ।

कतिलाई स्वास्थ्य र शिक्षामा सहज पहुँच एवं रोजगारीको उपलब....

स्वतन्त्रता सीमित गरेर आउँदैन समृद्धि

समृद्धि एक वहुआयामिक अवधारणा हो र यसबारे व्यक्ति, समूह वा समुदायपिच्छे फरक–फरक बुझाइ हुनसक्छ ।

कतिलाई स्वास्थ्य र शिक्षामा सहज पहुँच एवं रोजगारीको उपलब्धता नै समृद्धि हो भन्ने लाग्न सक्छ । कतिलाई सामाजिक सुरक्षा, निर्भयताका साथ बाँच्ने पाउने अवस्था र स्वतन्त्रतापूर्वक बोल्ने–हिँडडुल गर्ने अधिकार पनि समृद्धिका पूर्वशर्त हुन् भन्ने लाग्न सक्छ । कतिलाई राज्यले आफ्नो सामाजिक एवं साँस्कृतिक पहिचानको कदर नगरे समृद्धि निरर्थक हुन्छ भन्ने लाग्छ । यसैले, समृद्धिलाई परिभाषित र मापन गर्नु सजिलो छैन ।

केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई समृद्धिको सपना बाँडेको छ । यसैले, समृद्धि, त्यसका आधार र त्यो हासिल गर्ने तरिकाबारे पनि व्यापक बहस हुनु जरुरी छ । 

Hardik ivf

के हो समृद्धिको सही मार्ग ?

ओली सरकारले समृद्धिलाई साँघुरो एवं प्राविधिक रुपले मात्रै परिभाषित गरेको छ । यसबारे कुनै आलोचना र विरोध सुन्न ऊ तयार देखिँदैन । यो अधिनायकवादी मानसिकताको परिचायक हो । 

समृद्धिबारे राजा महेन्द्रको बुझाइ पनि लगभग यस्तै थियो । उनी वीपी कोइरालालाई भन्थे – ‘तपाईंको सरकारले १० वर्षमा जुन काम गर्छ, त्यो म दुई वर्षमै गरिदिन्छु ।’

राजा महेन्द्र वीपी कोइरालालाई भन्थे – ‘तपाईंको सरकारले १० वर्षमा जुन काम गर्छ, त्यो म दुई वर्षमै गरिदिन्छु ।’

दश वर्षमा हुने काम दुई वर्षमै गर्न राजा महेन्द्रले के गरे, त्यसले नेपाली समाज र अर्थतन्त्रमा कस्तो प्रभाव पार्‍याे र जनताले स्वतन्त्रतासहितको समृद्धिका लागि कस्तो संघर्ष गर्नु पर्‍याे भन्ने इतिहास यहाँ दोहोर्‍याइरहनु जरुरी छैन ।

राजा महेन्द्रद्वारा लादिएको पञ्चायती व्यवस्थाले नेपाली जनतालाई एउटा पाठ सिकाएर गएको छ – स्वतन्त्रताबिनाको समृद्धि सम्भव छैन । 

तर, त्यही अधिनायकवादी व्यवस्थाविरुद्ध लडेका र जेलनेल भोगेका ओलीको नेतृत्वको सरकारले पनि स्वतन्त्रतालाई सीमित गरेर र आलोचकको मुख थुनेर समृद्धि ल्याउने चेष्टा गर्दैछ । 

समृद्धि र सामाजिक मूल्य  

दक्षिण कोरियामा पार्क चुङ हीले दमनकारी सैनिक शासन लगाएर आर्थिक विकासको मार्ग लिए । चीनमा पनि अधिनायकवादी व्यवस्था छ । त्यस किसिमको आर्थिक विकासलाई समृद्धि मान्ने कि नमान्ने ? 

अधिनायकवादी व्यवस्थाअन्तर्गत आर्थिक उन्नति भयो भने पनि त्यसका लागि समाज र राष्ट्रले ठूलो मूल्य चुकाउनुपर्छ । यस्तो समृद्धि दीगो हुँदैन र मानवतारहित हुन्छ ।  हजारौं, लाखौं मानिसलाई मारेर वा तर्साएर आार्थिक उन्नति आयो भने पनि त्यसको के अर्थ भयो ? 

डा.जगदीशचन्द्र पोखरेल

डा.जगदीशचन्द्र पोखरेल

उदार लोकतान्त्रिक प्रणालीमा  प्रत्येक व्यक्तिको विचारको मूल्य हुन्छ । उसको जीवनलाई मूल्यवान ठानिन्छ । लोकतान्त्रिक व्यवस्थाबाट हासिल गरिएको आर्थिक उन्नति र समृद्धिको सामाजिक मूल्य कम हुन्छ । उदार लोकतन्त्रमा विश्वास गर्नेहरुको बुझाइ के हो भने आन्तरिक शक्ति सन्तुलन गर्ने संयन्त्र भएको र आलोचना सहने दिने परिपाटीअनुसारको राजनीतिक व्यवस्थामा आर्थिक विकास र समृद्धि स्वभाविक प्रक्रियाबाट हुन्छ । यस्तो समृद्धि दीगो हुन्छ र यसमा बहुसंख्यकको सहभागिता, अपनत्व र सन्तुष्टि हुन्छ  । 

खतरनाक छ अधिनायकवादी बाटो 

अहिलेको सरकारले पनि आलोचक र विपक्षीका तर्क एवं विचार सुन्न नचाहने पञ्चायतकालीन् प्रवृत्ति देखाउन थालेको आभास हुन्छ । यो खतरनाक प्रवृत्ति हो र यसले समृद्धिमा पुर्‍याउँदैन । विगतमा भएको अस्थिरता र अव्यवस्थाका कारण केही समय मानिसहरु यस्तो प्रवृत्तिप्रत्ति आकर्षित हुन सक्छन् । विश्वमा अधिकांश अधिनायकवादी शासनहरुको अन्त्य शान्तिपूर्ण तरिकाले भएका छैनन् । अधिनायकवादी शासनमा मानिसहरु डर र त्रासले गर्दा धेरै सहेर, दबेर बसेका हुन्छन् ।  तर छोटै समयमा  यस्तो अधिनायकवादी प्रवृत्तिले विष्फोेटक  परिस्थिति निम्त्याउन सक्छ ।

अहिलेको नेपाली समाज सन् १९६० को सिंगापुर वा सन् १९७० को चीनजस्तो छैन । त्यसबेला त्यहाँका जनताले समृद्धिका लागि जे–जस्तो सामाजिक मूल्य चुकाए, त्यसका लागि नेपाली समाज तयार छैन ।

वर्तमान सरकारको अधिनायकवादी सोचको स्रोत उनीहरुमा रहेको कम्युनिष्ट विचारधाराको धङधङी र दुई तिहाइको दम्भ नै हो । अहिले यस्तो विचार राख्ने कम्युनिष्टहरु र अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भन्ने उदारवादी लोकतन्त्रमा विश्वास गर्नेहरुको बीचको  सोचाइमा दूरी बढ्दै गइरहेको देखिन्छ । यसो हुनु राम्रो संकेत होइन । सरकार सञ्चालनकर्ता शक्तिले यसलाई घटाउनुको सट्टा बढाएको आभास हुन्छ । अरुलाई नगन्ने, सहिष्णुताको भाषा बोल्न नसक्ने, अरुलाई शत्रु देख्ने, तीखो गरी घोच्ने र दबाउने प्रवृत्तिले सहकार्य हुन दिँदैन । अन्ततः यसले लोकतन्त्रलाई नै कमजोर बनाउँछ ।  

केही ठूला परियोजना सम्पन्न हुँदैमा र तिनले केही प्रतिफल दिंदैमा पनि समृद्धि आएको मान्न सकिंदैन । त्यसमा धेरै मानिसको सहभागिता, अपनत्व, सन्तुष्टि र  खुशी समावेश हुनुपर्छ ।  थोरै मानिसले रुचाएको, निर्णय लिएको र राम्रो मानेका परियोजनाले समृद्धि ल्याएको मान्न सकिँदैन ।

धेरैले यो सरकारले मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद, सिंगापुरका तत्कालीन् नेता ली  क्वान यु लगायतको नरम तर विकासप्रेमी अधिनायकवादीको मार्ग अवलम्बन गर्न खोजेको भन्छन् । चीनलाई पनि आदर्श मानेको भन्ने गरिन्छ । तर, अहिलेको नेपाली समाज सन् १९६० को सिंगापुर वा सन् १९७० को चीनजस्तो छैन । त्यसबेला त्यहाँका जनताले समृद्धिका लागि जे–जस्तो सामाजिक मूल्य चुकाए, त्यसका लागि नेपाली समाज तयार छैन । ती देशको प्रगतिबाट प्रेरणा लिनु एउटा कुरा हो, तर त्यसका लागि त्यहाँका जनताले चुकाएको सामाजिक मूल्यको पनि लेखाजोखा हुनु जरुरी छ । 

लाखौंको हत्या भए पनि अहिलेका क्याम्बोडियाका प्रधानमन्त्री हुन सेन नेतृत्वको सरकारले त्यहाँ विकास गरेकोे छ भन्दै त्यसलाई प्रशंसा गर्ने पात्र र प्रवृत्ति पनि समाजमा छन् ।

ती मुलुकमा असन्तुष्ट समूहहरु कहाँ छन् र उनीहरुको असन्तुष्टि कति व्यापक छ भन्ने हामीलाई खासै जानकारी छैन । अभिव्यक्ति स्वतन्त्रतासहितको उदार लोकतन्त्रले यस्ता असन्तुष्टिहरुलाई अभिव्यक्त हुने अवसर दिन्छ । कम सामाजिक मूल्य चुकाएर हुने आर्थिक प्रगति र समृद्धि लोकतान्त्रिक विधिबाट सम्भव छ ।  

प्राथमिकतामा वहुलवाद 

हाम्रो समाजमा असाध्यै धेरै विविधता छ र हाम्रो राजनीतिक विकासक्रमले यो विविधतालाई  स्वीकार गरिसकेको छ । विभिन्न राजनीतिक, सामाजिक र ऐतिहासिक कारणले यो समाजले अब कसैले थोपरेको एकलौटी विचार र व्यवस्था स्वीकार गर्न सक्ने अवस्था छैन । हाम्रो जस्तो मुलुकलाई राजनीतिक मात्र नभई आर्थिक, सामाजिक र साँस्कृतिक बहुलबाद नै उचित छ । यसको मतलब अस्थिरता भइरहनुपर्छ भन्ने होइन, अस्थिरताको व्यवस्थापन हुनैपर्छ । 

अधिनायकवाद लादेर विकास गर्ने पञ्चायती प्रयोग असफल भइसकेको सन्दर्भमा अहिलेको सूचना र प्रविधिको विकासको युगमा त्यस्तो कल्पना गर्नु अत्यन्त अव्यवहारिक छ ।  

जुन राजनीतिक र संवैधानिक व्यवस्थाबाट आएको छ, त्यसका हित विरुद्ध जानु र जानखोज्नु राजनीतिक बेइमानी हो ।

यो सरकार अधिनायकवादी बाटोमा जान नहुने अर्को नैतिक कारण पनि छ । जुन राजनीतिक र संवैधानिक व्यवस्थाबाट आएको छ, त्यसका हित विरुद्ध जानु र जानखोज्नु राजनीतिक बेइमानी हो । यस्ता अभिव्यक्तिले कतै समृद्धिको नारा दिएर मुलुकलाई अधिनायकवादी व्यवस्थातर्फ लैजाने प्रयत्न त भएका छैनन् भन्ने प्रश्न उब्जिएका छन् । 

नेपालमा छोटा–छोटा अवधिमा ठूल्ठूला राजनीतिक परिवर्तन हुने गरेका छन् । जस्तो, पञ्चायत व्यवस्था ढल्न ३० वर्ष लाग्यो ।  बहुदलीय व्यवस्थामा समस्या आउन १० वर्ष पनि लागेन । २०६२÷६३ पछि राजनीतिक परिवर्तनहरु झन् छिटोछिटो हुन थालेका छन् । अहिलेको सरकारले अधिनायकवादी चरित्र जारी राख्यो भने जनताको धैर्यको बाँध  टुट्न धेरै समय नलाग्न सक्छ । वर्तमान सरकार बलियो छ, संसदमा दुई तिहाइ बहुमत छ । त्यसैले पनि धेरै मानिसहरु यसको विरोध गर्न हच्किएका छन् । यस्तो मौनता सँधै कायम नरहन सक्छ । 

लोकतन्त्र, स्वतन्त्रता र समृद्धि 

लोकतन्त्रमा उठाइने आवाज र गरिने विरोध समृद्धिका वाधक हुन सक्तैनन् । समृद्धिको अनुभव सबै वर्ग, तह र क्षेत्रका नेपालीलाई हुनुपर्छ, त्यसमा उनीहरुको सहभागिता र अपनत्व हुनुपर्छ । कुनै राजनीतिक दल विशेषका मानिसले मात्र अनुभव गर्ने सुविधालाई समृद्धि मान्न सकिंदैन ।  आन्तरिक शक्तिसन्तुलन र अभिव्यक्ति स्वतन्त्रता भएको सहभागितामूलक व्यवस्थाबाट वहुआयामिक र वास्तविक  समृद्धि सम्भव छ । 

नेपालको सन्दर्भमा लोकतन्त्र, विविधता र समृद्धि एकअर्काका परिपुरक हुन् । जुनसुकै वर्ग, क्षेत्र, लिंग र जातका नेपालीले आफ्ना क्षमताअनुसार काम गर्न पाउने वातावरण सृजना गर्न सक्ने राजनीतिक परिपाटीले मात्रै साँचो अर्थमा समृद्धि ल्याउन सक्छ । विकास समावेशी हुनै पर्छ । सामाजिक र आर्थिक विकास समानान्तर रुपमा हुनुपर्छ । यसर्थ स्वतन्त्रता बिनाको समृद्धि नै हुँदैन वा अपूर्ण हुन्छ  । 

व्यक्ति र समाजमा डरको छायाँ परेपछि  समृद्धि आउँदैन । डरका कारण सेल्फ सेन्सरसीप भयो भने शासकहरुलाई केही समय सजिलो लाग्ला, तर त्यसले स्वस्थ बहसलाई रोक्ने हुनाले यो लोकतन्त्र र समृद्धिका लागि अत्यन्त खतरनाक हुन्छ । 

(योजना आयोगका पूर्वउपाध्यक्ष पोखरेलसँग कुराकानीमा आधारित)

प्रकाशित मिति: १९:१६ बजे, बुधबार, फागुन १५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?