Kathmandu Press

स्पेन बन्याे युरोकप च्याम्पियन

आइबार राति जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ले हराउँदै स्पेनले उपाधि जितेको हो।
स्पेन बन्याे युरोकप च्याम्पियन

काठमाडाैं, असार ३१ : युरोकप उपाधि स्पेनले जितेको छ। आइबार राति जर्मनीको बर्लिनमा भएको फाइनलमा इंग्ल्यान्डलाई २-१ले हराउँदै स्पेनले उपाधि जितेको हो।

यो स्पेनको चौथो युरोकप उपाधि हो। योसँगै स्पेन युरोकपको सर्वाधिक उपाधि जित्ने टिम बनेको छ। यसअघि स्पेनले सन् २००८ र सन् २०१२मा लगातार उपाधि जितेको थियो भने १९६४मा पहिलो उपाधि जितेको थियो।

यता, इंग्ल्यान्ड भने लगाचार दोस्रो पटक फाइलन पुगेर पनि उपाधि जित्न असफल भयो। अघिल्लो पटक ऊ फाइनलमा इटालीसँग पेनाल्टी सुटआउटमा पराजित भएको थियो।

स्पेनलाई जित दिलाउने क्रममा निको विलियम्स र मिकेल ओयासाबेलले गोल गरे भने इंग्ल्यान्डका लागि कोल पाल्मरले गोल गरेका थिए।

euro-cup-1720991705.jpg

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै स्पेनले अग्रता लियो। ४७औं मिनेटमा लामिन यमालको पासमा विलियम्सले गोल गरेका थिए।

७३औं मिनेटमा इंग्ल्यान्ड बराबरी गोल फर्कायो। जुड बेलिङघमको पासमा पाल्मरले डिबक्स बाहिरबाट गोल गरेका थिए।

८६औं मिनेटमा स्पेनले फेरि अग्रता बनायो। काउन्टरमा कुकुरेलाको क्रसमा ओयासावेलले गोल गरेका थिए। त्यसपछि गोल नहुँदा स्पेन च्याम्पियन बन्यो।

प्रकाशित मिति: ०३:०० बजे, सोमबार, असार ३१, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्