यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनाेट
नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई नै सात विकेटले हराउँदै उपाधि जितेको थियो।
काठमाडौं, भदाै २७ : एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा युएईलाई ४४ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो।
नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् २०२३ मा भएको पहिलो संस्करणमा युएईलाई नै सात विकेटले हराउँदै उपाधि जितेको थियो।
युएईले भने सन् २०२४ मा आयोजक ओमानलाई पराजित गर्दै उपाधि जितेको थियो।
नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएईले ४९.२ ओभरमा २६८ रनमात्रै बनायो। राहुल चोपडाले शतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनी १०० रनमा नटआउट रहे। यस्तै, शोहैब खानले ५२ तनिश सुरीले ४२, हरप्रीत सिंहले ३३ रन जोडे।
बलिङतर्फ नेपालका करण केसीले तीन तथा ललित राजवंशीले दुई विकेट लिँदा सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी र बसिर अहमदले एक–एक सफलता हात पारे।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा ३१३ रन जोड्यो।
ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेले। १०६ बल खेलेका उनले ८ चौका र ४ छक्का प्रहार गर्दै १०२ रन जोडे।
यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले। अर्जुन कुमालले ४३, रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ रन जोडे। बसिर अहमद १५ रनमा अविजित रहे।
बलिङतर्फ युएईका इबरार अहमदले चार विकेट लिए। यस्तै, खुजैमा तनवीरले दुई तथा हैदर अली र अदीव उस्मानीले एक–एक विकेट लिए।
जितसँगै नेपालले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान समेत बनाएको छ।











