ह्याट्रिकपछि सन्दीपको प्रतिक्रिया : टिमको जित नै सबैभन्दा महत्वपूर्ण
‘ह्याट्रिक होस्, पाँच विकेट होस् वा जति पनि विकेट होस्, त्यसले टिमलाई जिताउन सहयोग गरिरहेको छ भने म सधैँ त्यही गर्न चाहन्छु। मेरो लागि एक विकेट लिएर टिमले जित्नु वा पाँच विकेट लिएर टिमले जित्नु एउटै हो । म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु,’ उनले भने।
काठमाडौं, कात्तिक २६ : बिराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि टिमको जित नै आफ्नो प्राथमिकता रहेको बताएका छन् ।
खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सन्दीपले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जित महत्वपूर्ण हुने बताए।
उनले एक विकेट लिएर टोलीलाई जिताउन सके पनि वा पाँच विकेट लिएर जिताउन सके पनि आफ्नो उद्देश्य टोलीलाई जित दिलाउनु नै रहेको उल्लेख गरे।
‘ह्याट्रिक होस्, पाँच विकेट होस् वा जति पनि विकेट होस्, त्यसले टिमलाई जिताउन सहयोग गरिरहेको छ भने म सधैँ त्यही गर्न चाहन्छु। मेरो लागि एक विकेट लिएर टिमले जित्नु वा पाँच विकेट लिएर टिमले जित्नु एउटै हो । म हरेक पटक आफ्नो टिमले जितेको हेर्न चाहन्छु,’ उनले भने।
उनले विपक्षी टोलीलाई १३२ रनमा रोक्न अन्य बलरको पनि महत्वपूर्ण योगदान रहेको बताए । अन्य बलरले अर्को छेउबाट दबाब सिर्जना गरेकाले आफूलाई बलिङ गर्न सहज भएको उनको भनाइ थियो ।
सन्दीपले प्रतियोगिताभरि टोलीले यस्तो सामूहिक प्रदर्शन देखाउन नसकेको उल्लेख गर्दै आजको खेल टिमवर्कको राम्रो उदाहरण भएको बताए ।
उनले ब्याटिङतर्फ लक्ष्य पछ्याउने क्रममा टोलीले केही संघर्ष गरे पनि जित हासिल गर्नु महत्वपूर्ण रहेको बताए । नेट रनरेट सुधार्नुभन्दा दुई अंक जोड्नु टोलीका लागि प्राथमिकता रहेको उनको भनाइ थियो ।
उनले टोलीको फिल्डिङमा भने सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । क्याच छुट्ने र मिसफिल्ड हुने समस्या रहे पनि खेलाडीले मैदानमा इमानदार प्रयास गरिरहेको हेर्न चाहेको उनले बताए ।
सन्दीपले दबाबपूर्ण अवस्थामा सुशीलको ब्याटिङ र प्रदर्शनको पनि प्रशंसा गरे । उनले सुशीलजस्ता अनुभवी खेलाडी टोलीमा हुँदा युवा खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउने बताए ।
नेपाल क्रिकेटको भविष्यबारे बोल्दै उनले नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा अझै प्रगति गर्नुपर्ने र भविष्यमा नेपाली खेलाडीले आईपीएल खेल्ने अवसर पाउने आशा व्यक्त गरे ।






