Kathmandu Press

विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।
विश्वासको मत लिनु अघिनै मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

जनकपुर, कात्तिक २८ : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

उनले राजीनामा घोषणा गरेपछि सभामुख रामअशिष यादवले विश्वासको मत लिन तोकिएको कार्यसूचि स्थगित भएको जानकारी गराएका थिए ।

प्रदेश सरकारमा सहभागी नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनका लागि आज प्रदेश सभाको बैठक बसेको थियो ।

नेपाली कांग्रेस नेतृत्वको मधेश प्रदेश सरकारमा सहभागी नेकपा एमालेका चार जना मन्त्रीले गएको असोज २५ गते सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्यस्तै ,सरकारमा सहभागी नेकपाका चार जना मन्त्रीले यही कात्तिक २० गते राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

मुख्यमन्त्री यादवले राजीनामा दिएसंगै सरकार गठनको आगामी प्रक्रिया प्रारम्भ भएको छ ।

प्रदेश सभाको अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख यादवले बताए ।

प्रकाशित मिति: १६:५९ बजे, शनिबार, कात्तिक २८, २०८३