Kathmandu Press

अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो।
अयोध्या लगिएको देवशिलास्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै

म्याग्दी, माघ ८ : भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको छ। अयोध्यामा करिब पाँच सय वर्षपछि पुनःनिर्माण भएको राममन्दिरमा आज मूर्तिको प्राण प्रतिष्ठा हुँदैछ।

मन्दिरमा हिन्दू धर्मावलम्बीका भगवान् रामको बाल्यकालको मूर्ति बनाउनका लागि गत वर्ष म्याग्दीको बेनी नगरपालिका–६ सेतिपहिरास्थित कालीगण्डकी किनारबाट दुई वटा शिला लगिएको थियो। देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन लागिएको बेनी नगरपालिकाका प्रमुख शुरत केसीले राससलाई जानकारी दिए।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई वटा शिला उपहार दिइएको हो।

Hardik ivf

‘नेपालबाट लगिएको देवशिला रामको अवतार भएकाले फुटाउन नहुने धार्मिक गुरुको तर्कपछि अयोध्याको मन्दिर परिसरमा पूजाआजाका लागि संरक्षण गरेर राखिएको छ,’ नगरप्रमुख केसीले भने, ‘रामको जन्मभूमि अयोध्या लगिएका शिलाको उद्गमस्थललाई संरक्षण र व्यवस्थापनसँगै प्रवद्र्धन गर्न लागेका हौं।’

देवशिला उत्खनन् गरिएको ठाउँमा कालीगण्डकी नदीमा स्नान स्थल र स्तम्भ बनाउन लागिएको नगरप्रमुख केसीले बताए। उनका अनुसार कालीगण्डकी नदीमा बसाह आकारको ढुंगालाई पनि संरक्षण गर्ने योजनासहित विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) बनाएर स्रोतको खोजी थालिएको छ।

देवशिला उत्खनन भएको गलेश्वर क्षेत्रलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ। मुस्ताङको कागबेनीमा पितृ तर्पण गर्न जाने भक्तजन र तीर्थयात्रीलाई बेनीको कालीगण्डकीमा स्नान गर्ने व्यवस्था मिलाउन लागिएको हो।

कालीगण्डकी नदीमा मात्र पाइने विश्वमै दुलर्भ शालग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको अवतार मान्ने गर्दछन्।

कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता छ।

अयोध्याको राममन्दिर उद्घाटन र मूर्तिको प्राण प्रतिष्ठा भएका अवसरमा आज देवशिला उद्गमस्थलमा पूजाआजा र एक लाख २५ हजार बत्ती बालिएको छ। देशशिला अयोध्या पु¥याउने क्रममा कुनै असर परेको भएमा त्यसको पाप नलागोस् भनेर क्षमापूजासहित सवा लाखबत्ती बालिएको गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए। रासस

प्रकाशित मिति: १६:४४ बजे, सोमबार, माघ ८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्