‘व्यवसाय फस्टाउन बजारीकरण अपरिहार्य छ’
रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्याउन आग्रह गरिन्।
काठमाडौं, माघ ८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेको बताएकी छिन्।
रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले आयोजना गरेको क्षमता विकास कार्यक्रममा उनले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गरिन्।
‘व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ। यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ,’ उनले भनिन्।
रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्याउन आग्रह गरिन्।
‘कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्याउनुपर्छ,’ उनले भनिन्, ‘बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्याउन हुँदैन।’
विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिइन्।
उनले आर्थिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गरिन्।
मन्त्री शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेकोसमेत बताइन्।










-1783320892.png)

