विश्वविद्यालय शिलन्यासका लागि राजविराजमा सुरक्षा व्यवस्था कडा
जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री रहेका महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी चेतावनीको शैलीमा भवन शिलान्यास कार्यक्रम स्थगत गर्न आग्रह गरेका थिए।
सप्तरी, माघ ८ : जनमत पार्टीको विरोधकाबीच आज सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास हुने भएपछि राजविराजमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
राजविराज नगरपालिका १३ मा विश्वविद्यालयको आफ्नै भवन निर्माणको लागि शिलान्यास हुन लागेको छ। विश्वविद्यालयको शिलन्यास जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री सरोजकुमार यादव र शिक्षा तथा संस्कृति मन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । शिलान्यासका लागि जसपाका नेता कार्यकर्ता, मधेशका मुख्यमन्त्रीसहित जसपाका मन्त्रीहरु राजविराज पुगेका छन्।
जनमत पार्टीबाट मधेश प्रदेशमा शिक्षामन्त्री रहेका महेश प्रसाद यादवले आइतबार विज्ञप्ति जारी गरी चेतावनीको शैलीमा भवन शिलान्यास कार्यक्रम स्थगत गर्न आग्रह गरेका थिए।
‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको वक्तव्यमा भनिएको थियो।
जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले पनि गृह मन्त्रालयलाई पत्र लेख्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न भनेका थिए। तनावको स्थिति आउन नदिन सुरक्षा व्यवस्था कडा पारिएको हो। अहिले राजविराज र आसपास क्षेत्रमा व्यापक रुपमा प्रहरी तैनजाथ गरिएको छ।
विश्वविद्यालयले उपेन्द्र यादवको हातबाट शिलान्यास गराउने तयारी गरेको भन्दै जनमत पार्टीका नेता–कार्यकर्ताहरुले विश्वविद्यायमा तालाबन्दी समेत गरिदिएका छन्।
सप्तरी क्षेत्र नं. २ बाट जनमत पार्टीका अध्यक्ष डा. सिके राउत निर्वाचित छन् । उक्त क्षेत्रबाट पराजित उपेन्द्र यादवले विश्व विद्यालयको भवन उद्घाटन गर्न लागेपछि जनमत पार्टी आक्रोशित बनेको छ।











-1783320892.png)
