प्रधानाध्यापक साह अदालतबाट भ्रष्टाचारी ठहर
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले साहलाई १३ लाख ३२ हजार रुपैंया बिगो कायम राख्दै त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ।
काठमाडौं, माघ ७ : विशेष अदालतले गोरखाको नेपाने माविका प्रधानाध्यापक शिवकुमार साहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रामबहादुर थापा र मुरारिबाबु श्रेष्ठको इजलासले साहलाई १३ लाख ३२ हजार रुपैंया बिगो कायम राख्दै त्यति नै रकम जरिवाना गर्ने फैसला गरेको छ। यसअघि पनि गत २४ पुसमा उनलाई दुई फरक मुद्दामा एक वर्ष ६ महिना कैद निर्धारण भइसकेको छ। विद्यालयका लागि निकासा भएको रकम हिनामिनालगायत कसुरमा साह दोषी किटान भएका हुन्।
जिल्ला शिक्षा कार्यालयबाट ट्रस भवन निर्माण बापतको रकम हिनामिना, झुटा प्रतिवेदन र बिल बनाई रकम दुरुपयोग, विद्यालयमै ल्याब बनाएर शैक्षिक सामग्री खरिदको रकम दुरुपयोग, विद्यार्थीले पाएको छात्रवृत्ति, पोशाक, झोलाको रकमसमेत फर्जी कागजातका आधारमा दुरुपयोग, छात्रा शौचालयको रकमसमेत दुरुपयोग, विद्यालय व्यवस्थापन समितिकोसमेत नक्कली निर्णय बनाएको जस्ता थुप्रै आरोप लगाउँदै अख्तियारले अदालतमा मुद्दा दायर गरेको थियो।










