सभामुख घिमिरे र राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले लेखे राष्ट्रपतिलाई स्मरणपत्र
गत मंसिर २५ गते संघीय संसदका तत्कालीन महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको थियो।
काठमाडौं, माघ ७ : संघीय संसद्को महासचिव नियुक्तिमा ढिलाई भएपछि सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिलाई स्मरण पत्र लेखेका छन्।
गत मंसिर २५ गते संघीय संसदका तत्कालीन महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि सचिव पद्मप्रसाद पाण्डेलाई महासचिव नियुक्तिका लागि सिफारिस गरिएको थियो।
उनको नागरिकतामा रहेका उमेर विवाद बल्झिएपछि नियक्तिको सिफारिस राष्ट्रपति कार्यालयमा विचाराधीन छ। सोही विषयमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाएका हुन्।
पाण्डेको नियुक्ति प्रक्रिया डेढ महिनादेखि रोकिएको छ। पाण्डेलाई महासचिवमा नियुक्तिका लागि भएको सिफारिस रोकिएको बिषयमा स्मरण पत्र पठाइएको हो।
पत्रमा नियुक्तिको सिफारिस किन रोकिएको हो भनेर चासो व्यक्त गरिएको छ। नौ महिना कार्यकाल बाँकी रहँदै तत्कालीन महासचिव डा.गौतमले राजीनामा दिएका थिए। सोही स्थानमा पूर्व नायब महान्यायधिवक्ता रहेका पाण्डेलाई सिफारिस गरिएको थियो।










