जिल्ला न्यायाधीश भट्टराईले दिए राजीनामा
उनी लामो सयमदेखि जिम्मेवारीविहीन बनाइएका थिए। छानबिन नसकिँदै कारवाहीमा पर्ने डरले राजीनामा दिएको जनाइएको छ। भट्टराईविरुद्ध हत्याका आरोपीलाई सफाइ दिने फैसला गरेकोलगायत उजुरी परिषदमा थिए।
काठमाडौं, माघ ७ : अनियमिततामा छानबिन चलिरहेकै बेला जिल्ला न्यायाधीश परशुराम भट्टराईले राजीनामा दिएका छन्।
न्याय परिषद स्रोतले जनाए अनुसार न्यायाधीश भट्टराईले शुक्रबार नै प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठलाई राजीनामा वुझाएका हुन्।
उनी लामो सयमदेखि जिम्मेवारीविहीन बनाइएका थिए। छानबिन नसकिँदै कारवाहीमा पर्ने डरले राजीनामा दिएको जनाइएको छ। भट्टराईविरुद्ध हत्याका आरोपीलाई सफाइ दिने फैसला गरेकोलगायत उजुरी परिषदमा थिए।
जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको गोली प्रहार गरी हत्या गरिएको कसुरका अभियुक्त पंकज भनिने दामोदर चौधरीलाई तथ्य प्रमाण दबाएर सफाई दिलाएको आरोप थियो।
उक्त घटनामा साहको हत्यापछि भागेका चौधरीलाई प्रहरीले छिमेकको घरमा लुकेको अवस्थामा हतियारसहित पक्राउ गरेको थियो। चौधरीको साथबाट प्रहरीले २ थान पेस्तोल र २२ राउण्ड गोली बरामद गरेको थियो।
जिल्ला सरकारी वकिल कार्यालय धनुषाले पंकजविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजना लगायत कसुरमा सजाय मागदाबी गर्दै १ मंसिर २०७६ मा जिल्ला अदालत धनुषामा दायर गरेको मुद्दामा दाबी नपुग्ने भन्दै सफाइ दिएपछि विवाद चर्केको थियो। उक्त फैसला उपर परिषदले छानविन समिति बनाएर अनुसन्धान समेत गरेको थियो।










