माइतीघरको निषेधाज्ञा खारेजी माग गर्दै प्रदर्शन गर्ने नेविसंघका विद्यार्थी नियन्त्रणमा
माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ
काठमाडौं, माघ ७ : काठमाडौंको माइतीघरमा लगाएको निषेधाज्ञा खारेज गर्नुपर्ने भन्दै प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

माइतीघरको निषेधाज्ञा खारेज गर्नुपर्ने नारा लगाउँदै सो क्षेत्रमा प्रदर्शन गर्न खोज्दा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। नागरिक स्वतन्त्रता कायम गर, निषेधाज्ञा फिर्ता गर लगाएतका प्लेकार्ड सहित उनीहरुले प्रदर्शन गरेका थिए।माइतीघरमा लगाएको निषेधाज्ञाका कारण नागरिकको स्वतन्त्रता हनन भएकाले प्रदर्शन गरिएको नेविसंघले जनाएको छ।

माइतिघरको निषेधाज्ञा विरुद्ध पछिल्लो समय दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ। सुरक्षाको कारण देखाउदै प्रशासनले माइतिघरमा निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा जारी हुनु अघि बिभिन्न समूहहरुले माइतिघरमा धर्ना, अनसन, प्रदर्शन लगाएतका कार्यक्रम गर्दै आएका थिए।












