‘सत्ता टिकाउन प्रधानमन्त्रीले शक्तिकेन्द्र रिझाइरहेका छन्’
उनले विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता सत्ता टिकाउन गरेको भक्तिभाव नै भएको बताए।
काठमाडौं, माघ ७ : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता टिकाउन प्रधानमन्त्री पुष्पकमल दाहालले शक्तिकेन्द्र रिझाइरहेको बताएका छन्।
प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विद्युत व्यापार सम्झौता र भारतीय दूतावासलाई २० करोड सीधै खर्च गर्न दिने सम्झौता सत्ता टिकाउन गरेको भक्तिभाव नै भएको बताए।
भारतीय दूतावासमार्फत सिधै २० करोड रकम कुनै आयोजनामा लगानी गर्न पाउने र भारतसँग गरिएको विद्युत व्यापार सम्झौताका कतिपय बुँदा राष्ट्रलाई दीर्घकालीन असर गर्ने खालका भएको उनले उल्लेख गरे।
उनले दस हजार मेगावाट विद्युत् बिक्री गर्ने नाममा मेचीदेखि महाकालीसम्मका ठूला नदीहरु भारतलाई होल्ड गर्न दिन लागिएको, भारतीय दुतावासले गर्नसक्ने लगानी बढाएर स्थानीय तहलाई आफ्नो देशमाभन्दा बढी अर्को देशमा निर्भर हुने अवस्था सिर्जना गर्न खोजिएको बताए।
सगठबन्धन सरकारका कारण मुलुक बहुआयामिक संकटतिर धकेलिँदै गएको बताउँदै उनले सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको बताए।
ज्ञवालीले देशको बाह्य सम्बन्धहरु असाध्यै नराम्रोसँग बिग्रिएको, अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, समाजमा नैराश्यता बढेको, युवा पलायन बढेको, देश बन्दैन भन्ने भाष्य र नकरात्मक मनोविज्ञान बढेको बताए।
‘नेपालको स्वतन्त्र, असंलग्न, सन्तुलित नीतिमाथि गम्भीर बिचलनहरु उत्पन्न भएका छन्। सत्ता टिकाउनका निम्ति जस्तोसुकै शक्तिहरु, पक्षहरुसँग पनि सौदाबाजी गर्ने सरकारको नीतिले गर्दा हाम्रो बाह्य सम्बन्ध र राष्ट्रहितमाथि आघात पुगेको छ,’ नेताज्ञवालीले भने।










