Kathmandu Press

दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पारे।
दिगो शान्ति सुनिश्चित गर्न प्रतिबद्ध छौं : प्रधानमन्त्री

काठमाडौं, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै उनले नेपाल आफैंले विकास गरेको शान्ति प्रक्रियाको ‘मोडल’ बाह्य जगत्का लागि अनुकरणीय रहेको बताए।

Hardik ivf

‘द्वन्द्वबाट स्थापित नेताका रूपमा सम्बोधन गर्दैगर्दा मलाई के विश्वास छ भने शान्ति सम्भव छ। दृढ विश्वास र इच्छाशक्तिले राष्ट्र र विश्वव्यापीरूपमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक र आर्थिक अन्यायलाई सम्बोधन गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भने।

नेपालले आफ्नो विकास प्रयासमा धेरै चुनौती सामना गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डोर्याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे।

नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको जानकारी दिँदै उनले नेपालको परराष्ट्र नीति सार्वभौम समानता, आपसी सम्मान, आपसी हित र विवादको शान्तिपूर्ण समाधानमा आधारित रहेको स्पष्ट पारे।

‘असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो,’ सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले भने।

शान्तिका प्रतीक गौतम बुद्धले दीक्षित गरेको शान्तिपूर्ण सहअस्तित्वको शाश्वत सत्यमा विश्वास गर्ने जनाउँदै उहाँले विविधतामा एकता र वसुधैव कुटुम्बकम् अर्थात् ‘विश्व एउटै परिवार’ नेपालीको जीवन पद्धति बनेको बताए।

नेपाल शान्तिप्रिय देश भएकाले विश्वमा भएका सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दछ भन्दै प्रधानमन्त्री दाहालले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी रहेको बताए।

प्रकाशित मिति: १९:१३ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्