Kathmandu Press

‘साझा चुनौती सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ’

‘नाम’ले संयुक्त राष्ट्रसंघको पुनःसंरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले दिगो शान्ति र साझा समृद्धि सुनिश्चितताका लागि बहुपक्षीय संस्था समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरे।
‘साझा चुनौती सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्छ’

काठमाडौं, माघ ५ : प्रधानमन्त्री पुष्पकमल दाहालले विज्ञान, प्रविधि र नवप्रर्वन’मा विकासशील र अल्पविकसित देशले सामना गरिरहेका व्यवधानलाई सम्बोधन गर्न ‘नाम’ले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन्।

युगाण्डाको काम्पलामा आयोजित असंलग्न आन्दोलन (नाम)को १९औं शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले दिगो विकासका लक्ष्य हासिल तथा दक्षिणी विश्वको आर्थिक विकास र समृद्धिमा नामले जोड दिनुपर्ने बताए।

‘नाम’ले संयुक्त राष्ट्रसंघको पुनःसंरचनामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ भन्दै उनले दिगो शान्ति र साझा समृद्धि सुनिश्चितताका लागि बहुपक्षीय संस्था समावेशी, पारदर्शी र लोकतान्त्रिक हुनुपर्ने उल्लेख गरे।

Hardik ivf

प्रधानमन्त्री दाहालले विश्वले झेल्नुपरेका साझा र समसामयिक चुनौतीलाई सम्बोधन गर्न ‘नाम’ले नेतृत्व लिनुपर्ने बताए।

सन् १९५५ अफ्रो–एसियाली सम्मेलनबाट ‘नाम’को बिजारोपण भएदेखि यसले लामो यात्रा तय गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस आन्दोलनले विश्वका धेरै देशको राजनीतिक स्वतन्त्रता, उपनिवेशीकरण र सार्वभौमसत्ता प्राप्त गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

‘यस खालको गरिमा, गर्व, ऐक्यबद्धता र सहयोगका लागि आशापूर्ण अवस्था हो,’ उनले भने, ‘यद्यपि आन्दोलनले न्यायोचित, समतामूलक, समावेशी, शान्तिपूर्ण र समृद्ध विश्वका लागि सङ्घर्ष जारी राखे पनि आजको संसार अन्याय, असमानता, विभाजन, विभेद र बहिष्कारले भरिएको छ।’

कोरोना महामारीपछिको पुनःउत्थान सुस्त र असमान रहेको जनाउँदै उनले यसले गरिब र सबैभन्दा कमजोर वर्गमाथि प्रहार गरेको बताए। महामारीपछि बहुआयामिक संकट निम्तिएको उनको भनाई थियो।

‘सभ्य जीवनको युगमा प्रवेश गर्न महत्त्वपूर्ण मानिएको दिगो विकासका लक्ष्यहरू हासिल गर्न असम्भव देखिएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विशेष परिस्थितिमा रहेका देशलाई विकासका दृष्टिकोण र लक्ष्य प्राप्तिका लागि वित्तीय सुरक्षा गर्नका लागि विश्वको वित्तीय संरचना सुधार गर्नुपर्दछ।’

आर्थिकरूपमा कमजोर मुलुकलाई विकास न्याय प्रदान गर्न विकसित देशले ढिलाइ नगरी वित्तीय प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय व्यापार न्यायोचित, निष्पक्ष र समावेशी हुनुपर्ने बताए।

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, माघ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्