संगीतकर्मीको सम्झनामा योगेश वैद्य
‘सपना भुलाई सारा, आँसु पिएर जाउ’ गीत चाहिँ नातीकाजीको हातबाट उहाँले खोसेरै लिएको भन्न चाहन्छु । नातीकाजीले संगीत गर्न हार्मोनियममा राखेको गीतलाई उहाँले मलाई मन पर्यो। यो गीत मलाई सुट हुन्छ, म गाउँछु भन्नुभएको हो। त्यसपछि नातीकाजीलाई आग्रह गरेको र गाउनुस भनेपछि गाउनु भएको गीत हो त्यो।’
काठमाडौं, माघ ५ : वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ।
वैद्यको पार्थिव शरीरलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जीका राखिएको थियो। त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको।
नेपाली सांगीतक क्षेत्रलाई कालजयी गीत दिएका वैद्यलाई विभिन्न संगीतकर्मीहरुले आ–आफ्नो तरिकाले झम्एिका छन्।
वैद्यलाई श्रद्धाञ्जली दिन नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान आएका वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले उनलाई सुगम संगीतका संरक्षकका रुपमा सम्झिए।
तीन दिनअघि मात्रै वैद्यसँग आफूले कुरा गरेको स्मरण उनले गरे। ‘तीन दिन अघिमात्र उहाँसँग कुरा गरिरहेको थिएँ । तर आज अचम्म भयो, खै के भनौं । मानिसको जीवन सोच्नै नसक्ने हुँदो रहेछ,’ उनी भावुक हुँदै भन्छन्– ‘यो लामो जीवनमा किन म हतास–हतास छु, उहाँले त्यस्तै गीतहरु गाउनुहुन्थ्यो। उहाँका गीतले जीवन बोकेको हुन्थ्यो । किनकी जीवनको यर्थाथतालाई शब्दले अंगालेको हुन्छ । हामी योगेश दाइलाई मिस गरिराखेका छौं।’
वैद्यको निधनले नेपाली गीत संगीत क्षेत्रले सुगम संगीतका गहन व्यक्ति, एक संरक्षक गुमाएको बास्कोटाले बताए।
करिव आठ वर्ष योगेशसँगै नजिक रहेर काम गरेका संगीतकार टिका भण्डारीले वैद्यलाई थोरै गीत गाउने तर शब्दलाई चिनेर भावमा बगेर आत्माबाटै गाउने स्रष्टाका रुपमा लिन्छन्।
‘सपना भुलाई सारा’ गीत रेकर्डको समयलाई स्मरण भण्डारी भन्छन्– ‘सपना भुलाई सारा, आँसु पिएर जाउ’ गीत चाहिँ नातीकाजीको हातबाट उहाँले खोसेरै लिएको भन्न चाहन्छु । नातीकाजीले संगीत गर्न हार्मोनियममा राखेको गीतलाई उहाँले मलाई मन पर्यो। यो गीत मलाई सुट हुन्छ, म गाउँछु भन्नुभएको हो। त्यसपछि नातीकाजीलाई आग्रह गरेको र गाउनुस भनेपछि गाउनु भएको गीत हो त्यो।’
वैद्यलाई नेपाल भाषाको ज्ञाताको रुपमा लिएका भण्डारीले नेपाली संगीतको पनि भाषाविद् भएको प्रतिक्रिया दिए ।
‘उहाँले नेपाल भाषाका पनि थुप्रै गीतहरु गाउनु भयो। नेपाल भाषाको राम्रो ज्ञाता हुनुहुन्थ्यो। संगीतमा एउटा भाषाविद् हामीले खोज्नुपर्यो भने उहाँको नाम आउँछ’ भण्डारीले भने।
२०३० को दशकमा रेडियो नेपालको लोकप्रियता चुलिनुमा वैद्यको योगदान महत्वपूर्ण रहेको भण्डारीको भनाई छ।
‘रेडियो नेपालको लोकप्रियता जति चुलियो त्यसमा उहाँको योगदान ज्यादै ठूलो छ। किनकी सुुगम संगीत नामाकरण गरेको समयलाई स्वर्णीम युग भनेर हामीले ३० को दशकलाई मान्यौं,’ उनले सम्झिए, ‘हुन त उहाँले २०२२ सालमा स्वर परीक्षा पास गर्नुभएको हो । त्यसपछि उहाँले त्यस्तै प्रकृतिका गीतहरु मेहनतकासाथ गहिरो भावमा अत्यन्तै लगनशील भएर गाउनुभयो। स्रोताको मन छुने काम गर्नु भयो।’
वैद्यले नातीकाजीदेखि तारादेवीसँग संगत मात्रै गरेनन् उनीहरुकै धेरै गीत गाए र संगीत पनि भरेका छन्। उनी रातारात कलाकार बन्ने र प्रतिस्पर्धा गर्ने प्रवृतिभन्दा पृथक र मिडियाबाट पनि टाढै बस्थे तर अन्र्तमनबाट संगीतमा रमाउने व्यक्ति भएको भण्डारी सम्झन्छन्।
वैद्यसँग नजिक रहेर काम गरेका संगीतकार स्वयन्द्र श्रेष्ठ उनको निधनले स्तब्ध भएको प्रतिक्रिया दिन्छन्। श्रेष्ठले केही समय अघिमात्रै वैद्यको गीतमा आफ्नो स्वर दिएका थिए तर वैद्य जीवित हुँदै गीत रिलिज गर्ने मौका भने पाएनन्।
‘एक हप्ता अगाडिमात्रै उहाँको घरमा हाम्रो भेट गीतको सिलसिलामा भएको थियो । तीनचार महिना अगाडि हामीले तीन चारवटा गीत उहाँको घरमै गएर उहाँकै संगीतमा रेकर्ड गरेका थियौं,’ उलने भने, ‘मैंले उहाँको संगीतमा गाउने अवसर पाएँ। मेरो संगीतमा उहाँले गाउनुभयो। उहाँको सपना पुरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ,’ श्रेष्ठले भने ।
लामो समयदेखि मृगौला सम्बन्धी समस्याबाट पीडित वैद्यको स्वास्थ्य बिहीबारबाटै बिग्रिएको बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशी बताउँछन् । ‘बेलुका योगेशलाई ज्वरो देखिएपछि अस्पताल भर्ना गरिएको थियो। शुक्रबार ७७बर्षको उमेरमा प्राण त्यागे,’ जोशीले सुनाए ।
वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका योगेशले करिब ३३ वर्ष सरकारी जागिरमा विताएका थिए । ०६१ मा सहसचिव पदबाट अवकाश लिएका योगेश निरन्तर संगीत साधनामा थिए।












