दल विभाजन गर्न ४० प्रतिशत सांसद र केन्द्रीय सदस्य चाहिने विधेयक आउने
२०७३ मा बनेको राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा कुनै पनि राजनीतिक दलको ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूले छुट्टै राजनीतिक दल गठन गरेमा दल त्याग गरेको नमानिने व्यवस्था छ।
काठमाडौं, माघ ५ : कुनै पनि राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद आवश्यक हुने व्यवस्था सहितको विधेयक संसदमा पेस गर्ने तयारी भएको छ।
सरकारले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गरेर सरकारले नयाँ व्यवस्था गर्न लागेको हो। २०७३ मा बनेको राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ को उपदफा २ मा कुनै पनि राजनीतिक दलको ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदहरूले छुट्टै राजनीतिक दल गठन गरेमा दल त्याग गरेको नमानिने व्यवस्था छ।
विगत सरकारले राजनीतिक दलसम्बन्धी ऐनको केही दफाहरू अध्यादेशबाट परिवर्तन गरेको थियो । उक्त अध्यादेश निष्क्रिय भएकाले कानुन कार्यान्वयन गर्न असहजता भएको विषयमा आयोगले सरकारलाई जानकारी गराउँदै आएको थियो।
मन्त्रिपरिषद्ले अध्यादेशभन्दा पूर्वको साबिक बमोजिमकै व्यवस्था गर्ने गरी विधेयक अघि बढाएको हो। नयाँ विधेयकमा ४० प्रतिशत सांसद र ४० प्रतिशत केन्द्रीय सदस्य मिलेर दल गठन गर्न सक्ने पुरानै व्यवस्था व्युँताइएको छ। विधेयक आगामी संसद अधिवेशनमा दर्ता गरिने भएको छ।












