अक्सिजन, विरामीको खाना र खाजाको खर्च कटौती नगर्नू : सर्वोच्च
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
काठमाडौं, माघ ५ : वीर अस्पतालमा अक्सिजन, बिरामीको खाना र खाजाको खर्च कटौती नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरि फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। वीर अस्पतालमा अक्सिजनसँगै खाना र खाजाको खर्च काटिएको बताउँदै रोक्न माग राखेर अधिवक्ता विमल पोखरेलले रिट दायर गरेका थिए।
गरिब र निमुखाले उपचार गराउने वीर अस्पतालमा दिइँदै आएको रासन र अक्सिजनको सुविधा कटौती गर्दा संविधानप्रदत्त स्वास्थ्यको हक कुण्ठित हुन पुगेको जिकिर रिट निवेदकको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, अर्थ मन्त्रालय र वीर अस्पतालका नाममा अन्तरिम आदेश जारी भएको छ।
आर्थिक वर्ष ०७९/८० मा एक अर्ब १९ करोड ६१ लाख १९ हजार बजेट विनियोजन गरे पनि आर्थिक वर्ष ०८०/८१ मा ७३ करोड एकलाख मात्र विनियोजन गरेको दाबी गर्दै अधिवक्ता पोखरेलले खर्च कटौती नगर्न माग गरेका थिए। अस्पताल आउने बिरामीका लागि दुईपटकको खानाका लागि गत आर्थिक वर्षमा तीन करोड ६५ लाख ३१ हजार विनियोजन भए पनि यसपाली पूरै कटौती गरिएको भनाई रिट निवेदकको छ।
बिरामीलाई दिईँदै आएको रासन र अक्सिजनको सुविधा खोसेर सरकारले अमानवीय काम गरेको तत्काल अन्तरिम आदेशमार्फ हस्तक्षेपको माग गरिएको थियो। सर्वोच्चले तत्कालका लागि सुविधा कटौती नगर्न आदेशमा भनेको छ।












