हिउँले सेताम्य बन्याे तेह्रथुमको तीनजुरे
तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मंगलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन्। गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्।
तेह्रथुम, माघ ३ : लामो समयपछि हल्का वर्षा भएसँगै तेह्रथुम, संखुवासभा, ताप्लेजुङको संगमस्थल तीनजुरे, मिल्के, जलजले (टिएमजे) क्षेत्रमा हिउँ परेको छ।
गुराँसको राजधानी भनेर परिचित पर्यटकीय क्षेत्रमा गत भदौदेखि वर्षा नभएको बताइएको छ। सो क्षेत्रमा मंगलबार साँझ वर्षा भएसँगै हिउँ परेको हो।
तीनजुरेडाँडा, फेदी, पाथीभरा मन्दिर परिसर, मंगलबारे र गुफा पोखरी हिउँले सेताम्ये भएका छन्। गुराँसका जंगल र नागीहरू हिउँले ढाकिँदा देखिने मनमोहक दृश्य हेर्न बर्सेनि यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आउने गर्छन्।
यस क्षेत्रबाट मौसम खुलेको समयमा कञ्चनजंगा, मकालु र कुम्भकर्ण हिमाल देख्न सकिन्छ भने यी क्षेत्रका पाँचपाखरी, खोपिङ पोखरी, गुफापोखरीमा ती हिमालका प्रतिविम्ब देखिन्छन्।
हिउँ परेसँगै हेर्न आउने पर्यटकले फोनमार्फत होटल ‘बुकिङ’ गरिरहेको तेह्रथुम लालीगुराँस नगरपालिका–१ टुटे देउरालीका होटल व्यवसायी श्री कार्कीले बताए। उनले अहिले होटल व्यवस्थापनमा भ्याइनभ्याइ भएको जानकारी दिए।
हिउँ पर्ने याममा झापा, मोरङ, सुनसरी र भारतका बिहार, सिक्किम, पश्चिम बंगाल र दिल्लीबाट पर्यटक आउने गर्छन्। गतवर्ष हिउँ नपर्दा यो क्षेत्रमा कम गुराँस फुलेको जनाइएको छ।
तेह्रथुमको लालीगुराँस नगरपालिका वसन्तपुरमा बनेको चोत्लुङ उद्यान, आरआर गार्डेन, पाथिभरा मन्दिर, मङ्गलबारेबाट माथि पाथिभरा मन्दिरसम्मको फुट ट्रयाक अवलोकन गर्न र हेर्न बर्सेनि हजारौँ पर्यटक आउने गर्छन्।
विशेषगरी हिउँ पर्ने र गुराँस फुल्ने याममा धेरै पर्यटक आउने गरेको वसन्तपुरका होटल व्यवसायी प्रकाश श्रेष्ठले बताए।
तीनजुरे क्षेत्रमा पर्ने आरआर गार्डेन, रक गार्डेन, पाथिभरा मन्दिर, मंगलबारे, पाँचपोखरीलगायतका पर्यटकीय क्षेत्र हुन्।












