नौ करोड बजेट संशोधन गर्न काठमाडौं महानगरको प्रस्ताव
विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डंगोलको भनाइ छ।
काठमाडौं पुस २९ : काठमाडौं महानगरपालिकाको १४औं नगरसभामा नौ कारोड बजेट संशोधन प्रस्ताव गरिएको छ। बैठकमा उपप्रमुख सुनिता डंगोलले संशोधन प्रस्ताव पेस गरेकी थिइन्।
महानगरको १३औं अधिवेशनबाट स्वीकृत चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट कार्यान्वयनको क्रममा छ। चालु आवमा महानगरको सञ्चित कोषमा आय तथा खर्चका लागि २४ अर्ब चार करोड ५४ लाख एक हजार विनियोजन गरिएको थियो।
विनियोजित रकममध्ये कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको, केही अत्यावश्यक योजना तथा कार्यक्रमहरुका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएकाले संशोधन प्रस्ताव गर्नु परेको उपप्रमुख डंगोलको भनाइ छ।
यसमध्ये यही पुस २६ गतेसम्ममा चार अर्ब २७ करोड ४१ लाख ५० हजार खर्च भएको छ बताइएको छ।
‘अहिलेसम्म विनियोजन गरिएको रकमको १७।७८ प्रतिशत खर्च भएको छ जसमध्ये पूर्वाधार विकासमा ११।६४ प्रतिशत, आर्थिक विकासमा १३।३४ प्रतिशत र सामाजिक विकासमा १८.७९ प्रतिशत खर्च भएको छ,’ उपप्रमुख डंगोलले भनिन्।
सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १०.८४ प्रतिशत खर्च भएको छ। ‘कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.४७ प्रतिशत खर्च भएको छ,’ उनले भनिन्, ‘विकास निर्माण कार्यको भौतिक प्रगति बढी भए पनि कतिपय खर्च भुक्तानी प्रक्रियामा भएर लेखांकन भई नसकेका कारण वित्तीय प्रगति कम देखिएको छ।’
चालु आवमा वर्षमा राजश्व आम्दानीतर्फ १० अर्ब ८० करोड ७८ लाख २० हजार लक्ष्य निर्धारण गरिएको थियो। त्यसमध्ये आन्तरिक राजश्व असुलीको लक्ष्य रु ६ अर्ब ३९ करोड २० लाख छ। यसमध्ये पुस रु २६ गतेसम्ममा चार अर्ब ७६ करोड ३३ लाख १२ हजार ६ सय २४ संकलन भएको छ।












