झापामा मनाइयाे छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ (तस्बिरहरू)
चामलको पिठोबाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो।
झापा, पुस २९ : झापामा छैटौं ‘राष्ट्रिय भाक्का दिवस’ मनाइएको छ। आदिवासी कोच राजवंशी समुदायले पुष २९ गतेलाई भाक्का दिवसका रुपमा मनाउदै आएका छन्।

चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का राजवंशी समुदायले चिसो मौसममा खाने प्रमुख परिकार हो। कोच राजवंशी समुदायको मौलिक परिकारको रुपमा रहेको भाक्काको प्रर्बद्धन र संरक्षण गर्ने उद्धेश्यले हरेक वर्ष पौष २९ गते राष्ट्रिय भाक्का दिवस मनाउन शुरु गरिएको राजवंशी समाज विकास समितिका केन्दीय अध्यक्ष अभय राजवंशीले बताए।

भाक्का दिवसले सामाजिक एकताको संन्देश दिएको र समाजमा सकारात्मक भुमिका निर्वाह गरेकाले नेपालीहरुको साझा परिकारकोरुपमा चिनाउनुपर्ने राजवंशी समुदायका अग्रज पवन राजवंशीले बताए।राजवंशी समाज विकास समितिको आयोजनामा भएको राष्ट्रिय भाक्का दिवसमा राजवंशी समुदायले प्रयोग गर्ने भेषभुषा, गरगहना, परंपरागत सांस्कृतिक सामाग्रीहरुको प्रर्दशन साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो।

राष्ट्रिय भाक्का दिवसका अवसरमा भद्रपुर, कचनकवल र हल्दीबारी गाउंपालिकाले स्थानियस्तरमा सार्वजनिक बिदा समेत दिएको छ। पुर्वी तराई र विषेश गरि झापा, मोरङ, सुनसरीमा प्रचलित भएपनि अहिले काठमाण्डौ लगायत देशका विभिन्न स्थानमा पनि यसको लोकप्रियता बढ्दै गएको छ।





















