Kathmandu Press

सन्तलालको कथामा ‘कथा भित्रका कथाहरू’

निर्देशक केसीले वृत्तचित्र तयारका लागि झन्डै दुई वर्ष खर्चिए। उक्त समय अनुसन्धानसँगै कसरी प्रस्तुत गर्ने भन्ने तयारी भयो।
सन्तलालको कथामा ‘कथा भित्रका कथाहरू’

काठमाडौं, पुस २९ : सन्तलाल चेपाङको वास्तविक जीवनीमा आधारित रहेर वृत्तचित्र ‘कथा भित्रका कथाहरू’ तयार गरिएको छ। कुनै समय सङगीतिक श्रव्यदृश्य निर्देशनमा व्यस्त रहेका दीपेन्द्र केसीले यसलाई तयार गरेका हुन्।

उनले अहिले पनि चेपाङ समुदाय जंगलमै बस्नुको कारण र एक परिवारको कथालाई वृत्तचित्रमार्फत भन्न खोजेको जानकारी दिए। 'अहिले पनि चेपाङ समुदायलाई जङ्गल नै प्यारो छ, म छायाङ्कनका लागि त्यहाँ पुगेपछि उनीहरूको छुट्टै संसार र जीवनसँग जानकार भए, यसलाई विश्वले हेर्नुपर्छ भन्ने उद्देश्यले वृत्तचित्र तयार गरेको हुँँ,' निर्देशक केसीले भने। चेपाङबारे कमै कथा भेटेपछि वृत्तचित्र तयार गर्ने सोच बनाएका निर्देशक केसीलाई मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाले नयाँबस्तीसम्म पुर्‍याए। 

Hardik ivf

'त्यहाँ पुगेपछि मैले धेरै कथा भेटेँ, ती मध्येका एक सन्तलाललाई भेटें, मैले उहाँकै कथा किन देखाउँदैछु भन्ने बुझ्न वृत्तचित्र नै हेर्नुपर्छ,' निर्देशक केसीले भने, 'मेरो उदेश्य उनको कथा देखाउनु मात्र नभइ जीविकोपार्जनमा परिवर्तन ल्याउनु पनि हो, उक्त समुदायले बाँचिरहेको जीवन हाम्रो कल्पनाभन्दा बाहिर छ।'

निर्देशक केसीले वृत्तचित्र तयारका लागि झन्डै दुई वर्ष खर्चिए। उक्त समय अनुसन्धानसँगै कसरी प्रस्तुत गर्ने भन्ने तयारी भयो। 'मैले छायाङ्कन  लगभग तीन साताको समयमा गरें, त्यसैले गर्दा पनि मलाई समय लाग्यो, त्यो बीचमा म उहाँहरूसँग नजिक हुन पाएँ, मैले बुझेको उहाँहरूका भोगाइलाई शब्दमा व्यक्त गर्न सक्दिन,' निर्देशक केसीले भने। 

निर्देशक केसीले उक्त वृत्तचित्र चाँडै प्रदर्शन गरिने बताए। चलचित्रसम्बन्धी अध्ययन गराइने ओस्कार कलेजमा शिक्षा लिएपछि निर्देशक केसी वृतचित्र निर्देशनमा लागे। उनको चर्चित सङ्गीतिक श्रव्यदृश्य गायक नवीन के भट्टराईको ‘अलिकत पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाउ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ लगायत छन्।

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, पुस २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्