स्काभेटरमा आगजनी गर्ने पाँचजना पक्राउ
आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन्।
सोलुखुम्बु, पुस २९ : सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ।
जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो। आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो। आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो।
यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो। पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट ४० लाखबराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा ८० लाखबराबरको क्षति भएको थियो। यस्तै गत मंसिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोडबराबरको क्षति भएको थियो।
आगजनी गरेको आरोपमा पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन्।
पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ। घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ












