Kathmandu Press

फुङ्लिङमा भूमिहीनलाई निस्सा वितरण

फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो।
फुङ्लिङमा भूमिहीनलाई निस्सा वितरण

ताप्लेजुङ, पुस २८ : ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ। जग्गाधनीपुर्जाविहीन भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले  निस्सा वितरण गरेको हो।

राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताए। फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो।

फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका एक सय ७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गाधनी पुर्जा प्राप्त गर्न निवेदन दिएका थिए। समितिसमक्ष निवेदन दिएकामध्ये प्रमाणीकरण भएका एक सय १७ जना भूमिहीनलाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ।

जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका  समितिले जनाएको छ। एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दाबीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ।

निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए। उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजारबाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन्।

प्रकाशित मिति: ०७:५६ बजे, शनिबार, पुस २८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्