Kathmandu Press

पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ

मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त  र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा ती युवक सक्रिय थिए।
पाहुना लाग्दै धनमाल लुट्ने युवक पक्राउ

विराटनगर, पुस २७ : अनेक बहाना बनाएर पाहुना लाग्दै धनमाल लुट्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ, झापा र इलामका विभिन्न गाउँ पुगेर आफन्त  र मित साइनो लगाएर बास बस्ने अनि धनमाल चोरी गर्ने काममा ती युवक सक्रिय थिए।

पक्राउ पर्नेमा भारतको बिहार, फारबिसगञ्जका ३५ वर्षीय सन्तोष थापा छन्। उनलाई इलामको माई नगरपालिका ३ बाट पक्राउ गरिएको हो। उनको साथमा रहेको आधार कार्डका आधारमा उनलाई यसरी पहिचान गरिएको प्रहरीले जनाएको छ। इलामको माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा स्थानीय बासिन्दाको पाहुनाका रुपमा बास बसेर नगद, मोटरसाइकल, गहनालगायत धनमाल लुटेको प्रहरीले जनाएको छ।

Hardik ivf

गत मंसिर ५ गते राति माई नगरपालिकाको कालीखोलाका ५६ वर्षे धनबहादुर केरुङ र ६८ वर्षीय पूर्णबहादुर आले मगरको घरबाट नगद १८ हजार आठ सय, एउटा ल्यापटप, एउटा टिभी, दुइटा मोबाइलसहित करिब एक लाख ६० हजार रुपैयाँ बराबरको धनमाल लुटिएको थियो। त्यस घटनामा थापाकै संलग्नता रहेको जनाइएको छ।

पक्राउ परेका थापाले झापा र मोरङका विभिन्न स्थानमा पनि यसैगरी धनमाल लुटेर भाग्ने गरेको पाइएको छ। गाउँ गाउँ पुगेर स्थानीयको घरमा बास माग्ने र अनेक साइनो लगाएर विश्वस्त बनाउने उनको जुक्ति पाइएको छ। कहिले छोराको मीत हुँ भन्ने, कहिले कुनै टाढाको आफन्त भएको बताउने अनि कहिले भारतीय लाहुरे हुँ भन्ने उनले आफ्नो साथमा १० वर्षीय छोरा पनि साथै लैजाने गरेको पाइएको छ।

ठाउँपिच्छे फरक फरक नाम र ठेगाना बताएर बास बस्ने गरेको पनि खुलेको प्रहरीले जनाएको छ। उनले बास बसेको घरमा भएका धनमाल लुटेर भोलिपल्ट भाग्ने गरेका थिए। थापालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। कोही उनीबाट ठगिएको भए जानकारी दिन पनि प्रहरीले सूचित गरेको छ।
 

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, पुस २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्