Kathmandu Press

गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको भिड

गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भिड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए।
गोकर्णेश्वरमा तीर्थ श्राद्ध गर्नेको भिड
Hardik ivf

काठमाडौं, पुस २६ : प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औँसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध गर्न आज बिहानैदेखि राजधानीको गोकर्णेश्वर उत्तरगया तीर्थमा भक्तजनको भिड लागेको छ।
 
गोकर्णेश्वर उत्तरगया पितृतीर्थ धाममा बिहानैदेखि भक्तजनको भिड लागेको गोकर्णेश्वर नगरपालिका वडा नंं ४ को अध्यक्षसमेत रहनुभएका मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष जयराम महतले राससलाई जानकारी दिए। पौषकृष्ण औँसीमा विगतका वर्षमाभन्दा यस वर्ष भक्तजनको बढी भिड लागेकाले नेपाल मेडिकल कलेजबाट माथि जाने सवारी पनि जाममा परेको उनले सुनाए।
 
दक्षिणायनको अन्तिम औँसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ। पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औँसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले राससलाई जानकारी दिए।
 
सौरमासअनुसार माघेसङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ। उत्तरायण सुरु हुनुअघिको औँसी अर्थात् पौष कृष्ण औँसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ। वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने शास्त्रीय नियम छ।

यसै आधारमा आज राजधानीको गोकर्णेश्वर उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित बेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ। गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध पनि भनिन्छ।
 
दक्षिणायनको अन्तिम बिदाइका रुपमा आजको श्राद्ध गर्ने गरिएको हो। दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिइ गरिने श्राद्ध शास्त्रीयरुपमा गर्नुपर्ने दिन पौष कृष्ण औँसी हो। तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउँछन्।

'महालय परपक्ष र पितृपक्षसमेत भनिने सोह्रश्राद्धमा नै दर्शश्राद्ध गर्न थालिएको छ, महालयमा सबै पितृलाई पिण्ड दिनुपर्छ, दर्श श्राद्धमा छ जनालाई दिनुपर्छ, घर र मामाघरतिरका तीन तीन पुस्तालाई गरी छ वटा पिण्डदान गर्ने श्राद्ध नै दर्श श्राद्ध हो, एकोद्दिष्ट गणका सबैलाई पिण्ड दिने श्राद्ध महालय श्राद्ध हो, शब्दमा सोह्र श्राद्धलाई महालय श्राद्ध भनिए पनि व्यवहारमा लोप भएको छ', उनले भने। 
  
श्राद्ध भनेको श्रद्धा हो। शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन। महालयमा कसैकसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन। यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ।

प्रकाशित मिति: १२:५३ बजे, बिहीबार, पुस २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्