चक्रवर्ती कलेजमा झडप हुँदा अध्यक्ष घाइते, २४ पक्राउ
प्रारम्भिक अनुसन्धानकाक्रममा कलेजका अध्यक्ष रहेका देवेन्द्र र उनका छोरा निरजबीच सम्पत्तिको विषयमा विवाद भएको देखिएको प्रहरीले जनाएको छ।
काठमाडौं, पुस २४ : बिजुलीबजारस्थित चक्रवर्ती हबी एजुकेसन कलेज अफ लमा झडप हुँदा अध्यक्ष देवेन्द्र भण्डारी गम्भीर घाइते भएका छन्। सोमबार राती ११ बजेतिर उक्त झडप भएको प्रहरीले जनाएको छ।
प्रहरीले सोमबार र मंगलबार गरी २४ जनालाई पक्राउ गरी हिरासतमा लिएको छ। झडपको कारणबारे प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानकाक्रममा कलेजका अध्यक्ष रहेका देवेन्द्र र उनका छोरा निरजबीच सम्पत्तिको विषयमा विवाद भएको देखिएको प्रहरीले जनाएको छ।
हातपातका क्रममा कलेजका अध्यक्ष भण्डारीको टाउकोमा चोट लागेको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ । झडपमा उनका छोरा निरजसहित केही व्यक्तिहरू पनि घाइते बनेका छन्।
दिउँसो बाबु भण्डारीलाई छोरा निरज सहितको टोलीले कलेजमा पस्न नदिएपछि विवाद शुरु भएको थियो। प्रवेश नदिएपछि बेलुकी ११ बजेतिर भण्डारी टोलीसहित कलेजमा पुगेका थिए।
त्यसक्रममा दुई पक्षविच हानाहान् भएको हो । यता छोरा निरजले छुट्टै साधारण सभा गरेर कलेजको अध्यक्षसमेत बनेको बताइएको छ। कलेज निरजले चलाउँदै आएका थिए।












