आयरल्यान्ड–नेपाल संसदीयमैत्री समूह गठनप्रति सभामुख घिमिरेद्वारा खुशी व्यक्त
भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका छन्।(22)-1704791156.jpg)
काठमाडौं, पुस २४ : सभामुख देवराज घिमिरे र आयरल्यान्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरी बट्टिमरबीच शिष्टाचार भेट भएको छ।
नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सभामुख घिमिरेलाई सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेट गरेका हुन्।
उक्त भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ। भेटमा सभामुख घिमिरेले सन् १९९९ अगस्त १९ मा कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात नेपाल र आयरल्याण्डबीच मैत्रिपूर्ण एवम् सौहार्द्रपूर्ण रहेको भन्दै खुशी व्यक्त गरेका छन्।
भेटमा उनले संसदीय लोकतन्त्र, मानव अधिकार, विधिको शासन र स्वतन्त्रता नेपाल र आयरल्याण्डका साझा प्रतिबद्धताहरु रहेको उल्लेख गरे।
आयरल्यान्डको संसदमा आयरल्याण्ड–नेपाल संसदीयमैत्री समूह गठन भएकोमा खुशी व्यक्त गर्दै सभामुख घिमिरेले आगामी दिनमा दुई देशबीच संसदीय प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गर्न सहज हुने र यसबाट दुई देशबिचको संसदीय सम्बन्ध अझ मजबुत हुने विश्वास रहेको बताए।
उनले युरोपेली संघको एक महत्वपूर्ण सदस्यको हैसियतमा नेपालको विकास प्रयासलाई युरोपेली संघमार्फत थप सहयोग उपलब्ध गराउने दिशामा सकारात्मक वातावरण सिर्जना गर्न सहयोग गर्न अनुरोध गरे।
भेटमा आयरल्याण्डका अध्यक्ष जेरी बट्टिमरले सभामुखको भ्रमणका क्रममा शिक्षा क्षेत्रको आदान प्रदानमा देखाउनुभएको चासो सम्बोधन गर्न आयरल्याण्डको शिक्षा मन्त्रालय र संसदको शिक्षा समितिले काम गरिरहेको जानकारी दिएका थिए।
नेपालको संविधानले लोकतन्त्रलाई संस्थागत गर्न र विकासमा सहयोग गर्ने अपेक्षा लिएको बताउँदै नेपालले शान्तिका क्षेत्रमा विश्वमा गरेका प्रयासहरु उदाहरणीय रहेको भन्दै उनले प्रशंसा समेत गरेका थिए।












