विदेशमा बसेर धारे हात लगाएर मात्र देश बन्दैन : मन्त्री लम्साल
‘देशमा केही गर्न सकिँदैन, दलले केही गर्दैनन् भन्ने भाष्य बनाउन खोजिँदैछ, त्यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ, यसका लागि युवालाई जागरण अभियानमा लैजान आवश्यक छ,’ उनले भने।
रामेछाप, पुस २४ : बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अब पूर्वाधार विकासको कुरा मात्र होइन सु–संस्कृत समाज निर्माणको अभियानमा लाग्नुपर्ने बताएका छन्।
उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रीतिमा मंलगबार आयोजित राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै लम्सालले यो देशमा केही गर्न सकिँदैन भन्ने भाष्य चिर्न आवश्यक रहेको बताए।
‘देशमा केही गर्न सकिँदैन, दलले केही गर्दैनन् भन्ने भाष्य बनाउन खोजिँदैछ, त्यसकाविरुद्ध संघर्ष गर्नुपर्ने बेला आएको छ, यसका लागि युवालाई जागरण अभियानमा लैजान आवश्यक छ,’ उनले भने।
देश छाडेर जानेले सरापेर नेपाल नबन्ने लम्सालले स्पष्ट पारे। उनले भने, ‘देश छाडेर जानेहरूले धारे हात लगाएर देश बन्दैन, देश यही देशमा बस्ने धर्तीपुत्रले बनाउने हो।’
नेपालमा गणतन्त्र अफाप भयो, प्रदेश सरकार चाहिँदैन भनेर केही शक्तिहरूले गलत प्रचार गरेको भन्दै उनले त्यसको प्रतिवाद गर्नुपर्नेमा जोड दिए। विकास निर्माणको हिसाबले पनि संघीयता आवश्यक रहेको उनले बताए।
प्रकृतिको सुन्दर उपहारलाई नेपाल र नेपालीले उपयोग गर्न नसकेको उनले बताए । यस्तो प्राकृतिक सुन्दरतालाई छाडेर युवा सहर र विदेश पलायन हुनु दुःखको कुरा भएको लम्सालको भनाइ छ।
अब स्थानीय स्तरमा विकास निर्माणका अगुवाइ त्यही स्थानका नागरिक र जनप्रतिनिधिले गर्नुपर्नेमा उनले जोड दिए। खेलकुदको विकासको लागि १० प्रतिशत बजेट छुट्याउनु पर्ने भएपनि त्यस अनुसारको बजेट छुट्याउन नसकेको उनले बताए।
लम्सालले खेल खेलेर खेलाडीले इज्जत प्रतिष्ठा र पैसा मात्र कमाउने होइन, देशले नै नाम कमाउने बताए।
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










