झापामा जुत्ता-चप्पल महोत्सव, १० दिनमा ८५ लाखको कारोबार
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ।झापा, पुस २२ : झापाको बिर्तामोडस्थित सिटी सेन्टरमा जारी कोशी प्रदेशकै पहिलो जुत्ता–चप्पल महोत्सवमा हालसम्म ८५ लाख रुपैयाँको कारोबार भएको छ।
महोत्सव आयोजकले आज (आइतबार) पत्रकार सम्मेलन गरेर १० दिनको अवधिमा ८५ लाख रुपैयाँको जुत्ता चप्पल बिक्री भएको जनाएको छ।
फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष होम उपाध्याय अनुसार प्रत्येक दिन महोत्सवमा अवलोकनकर्ताको भिड बढिरहेको छ। उनले त्यहाँबाट बिक्री भएका उत्पादनहरुमा ६ महिनाको वारेन्टी दिने गरेको बताए।
‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ माघ ९ गतेसम्म सञ्चालन हुने ‘प्रथम बिर्तामोड जुत्ता–चप्पल व्यापार महोत्सव २०८०’ मा हालसम्म ६० हजार दर्शकले अवलोकन गरेका छन्।
महोत्सव अवधिभर करिब डेढ लाख दर्शकलाई अवलोकन गराउनुका साथै तीन करोड रुपैयाँको करोबार हुने लक्ष्य आयोजकले राखेको छ। बिर्तामोड सिटी सेन्टर इन्भेस्टमेन्ट प्रालिको आयोजना तथा नेपाली जुत्ता उद्योगी समूहसँगको सहकार्यमा महोत्सवको आयोजना गरिएको हो।
महोत्सवमा ८ वटा कम्पनीका १५ भन्दा बढी ब्रान्डका जुत्ता–चप्पल राखिएको छ। तीन हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ता चप्पलहरु उपलब्ध छन्।
महोत्सवमा नेपालमा स्थापित चर्चित जुत्ता–चप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सुज, बिएफ डियर हिल सुज, क्रसरोड सुज, फस्टवाक सुज, स्मार्ट सुज, डिजे सुज, टुरिस्ट सुज र रन सुज गरी आठवटा कम्पनीका ब्रान्डहरुको सहभागिता रहेको छ।
महोत्सवमा नयाँ डिजाइनका आकर्षक जुत्ता चप्पल खरिदमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको, महोत्सव बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहेको छ। महोत्सवमा कोशी प्रदेश र भारतको पश्चिम बंगालबाट समेत अवलोकनकर्ता आउने गरेको जनाइएको छ।