Kathmandu Press

सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको  महानगरपालिकाले जनाएको छ। यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ।
सामुदायिक विद्यालयमा ट्राफिक क्लब गठन

काठमाडौं, पुस २१ : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक शिक्षा दिने मुख्य उद्देश्यसहित ट्राफिक क्लब गठन गर्न थालेको छ।  

प्रत्येक विद्यालयका १० देखि १५ विद्यार्थीलाई सहभागी गराएर ट्राफिक क्लब गठन गर्ने र छनौटमा परेका विद्यार्थीलाई ट्राफिक प्रहरीमार्फत तालिम दिन थालिएको  महानगरपालिकाले जनाएको छ। यसअघि पद्मकन्या विद्यायलले ट्राफिक क्लब गठन गरिसकेको छ। महानगरले अन्य विद्यालयमा पनि सो कार्यक्रम विस्तार गरिरहेको कामपा ट्राफिक व्यवस्थापन सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। 

Hardik ivf

सल्लाहकार श्रेष्ठका अनुसार छनौटमा परेको विद्यार्थीले विद्यालयमा बालबालिका आउने जाने मुख्य समय (बिहान ९ देखि १० बजे र अपराह्न ३ देखि ४ बजेसम्म) उक्त  तालिम प्राप्त विद्यार्थीले सडक पार गर्नका लागि सहयोग गर्नेछन्।

श्रेष्ठले भने, 'उक्त समयमा विद्यार्थी नै ट्राफिकको पोसाकमा ट्राफिककै काममा खटिनेछन्, जसले गर्दा विद्यालय क्षेत्रमा हुने सडक दुर्घटना कम गर्न मद्दत गर्नेछ।' सहयोगका लागि खटिएका विद्यार्थीले तोकिएको समयभित्र ट्राफिकको भूमिका निर्वाह गर्नेछन्। विद्यार्थीले ट्राफिक लाइट प्रयोग गर्ने, ट्राफिक कोन, सेफ्टी ज्याकेट, प्याटन लाइटसहित जान र आउनका लागि सङ्केत गरेर अन्यलाई सहयोग गर्नेछन्। 

उक्त कार्यक्रम कामपामा सञ्चालनमा रहेका ८९ वटै सामुदायिक विद्यालयमा सञ्चालन गर्ने भनिए पनि पूर्वप्राथमिक विद्यालयमा साना बालबालिकालाई यस किसिमको कार्यक्रममा सहभागी गराउन नसक्ने जनाइएको छ। त्यसका लागि कामपाले पहिलो चरणमा ४० विद्यालयमलाई छनाेट गरेको छ।

उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्षमा महानगरले रु २० लाख विनियोजन गरेको छ। यसैबीच कामपाले विद्यालय अगाडि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने  प्रणाली जडान गर्ने तयारीसमेत गरेको छ। यसअघि बबरमहलमा सो प्रणाली जडान गरिसकेको कामपाले अब २६ सामुदायिक विद्यालय र १० निजी विद्यालय गरी ३६ स्थानमा उक्त प्रणाली जडान गर्न  लागेको श्रेष्ठले जानकारी दिए। 

यस वर्ष ३६ विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकता हेरी दुर्घटनाको जोखिम रहेका विद्यालयमा सो व्यवस्थ गरिने छ। हाल कामपामा ८९ सामुदायिक र पाँच सय चार निजी विद्यालय सञ्चालित छन्। 

प्रकाशित मिति: १३:३९ बजे, शनिबार, पुस २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्