राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान
मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्। अध्यक्ष लिङ्देन पुस २४ गते स्वदेश फर्कने छन्।-1703832052.jpg)
काठमाडौं, पुस २० : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन्।
पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी बिहीबार राति मलेसिया प्रस्थान गर्नुभएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए।
उनका अनुसार अध्यक्ष लिङ्देन भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।
यसैगरी, मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने किराती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन तथा जनवरी ७ तारिखमा होटल ग्रान्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्ने बताइएको छ।
मलेसियामा रहेका विभिन्न प्रवासी नेपाली संघसंस्था, नेपाली राजदूतावासलगायत सरोकारवालासँग भेट गरी नेपाली श्रमिकका समस्या र समाधानका लागि भइरहेका प्रयासबारे जानकारी लिने कार्यक्रमसमेत रहेको प्रवक्ता श्रेष्ठले बताए।
मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले पार्टी उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेका छन्। अध्यक्ष लिङ्देन पुस २४ गते स्वदेश फर्कने छन्।












