Kathmandu Press

१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ 

गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट (१ हजार ८४३ वटा) १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो। 
१८ लाखभन्दा बढी नक्कली नोटसहित पक्राउ 

रौतहट, पुस १९ : प्रहरीले १८ लाख रुपैयाँभन्दा बढी नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। 

गुजरा नगरपालिका वडा नं. ५ हरिहरपुरका २५ वर्षीय सन्दीप यादवलाई प्रहरीले १ हजार दरको नोट (१ हजार ८४३ वटा) १८ लाख ४३ हजार नगद सहित पक्राउ गरेको हो। 

देवाही गोनाही नगरपालिका–८ पटेल चोक नजिकबाट यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी एलिजा गिरीले जानकारी दिइन्।

Hardik ivf

नक्कली नोटसहित यादवको साथबाट विभिन्न बैंकको एटिएम भिसा कार्ड ५ थान, चेक ३ थान १६ लाख ६५ हजार उल्लेख भएको र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा विहिबार आयोजित पत्रकार सम्मेलन मार्फत उक्त घटनाबारे विवरण सार्वजनिक गरिएको हो। पक्राउ परेका यादवलाई मुद्रासम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ। 

पछिल्लो समय रौतहटका विभिन्न ग्रामीण बजारहरुबाट फाटफुट रुपमा नक्कली नोटहरु बरामद हुन थालेपछि प्रहरीले आफ्नो संयन्त्र प्रयोग गर्दै गोप्य सूचनाका आधारमा सो रकम बरामद गरेको हो। 

प्रहरीका अनुसार गरुडा नगरपालिका वडा नं. ५ स्थित शिवनगर मेलाबाट गत असार २१ गते १ सय दरको ४ थान नक्कली नोटसहित ४ जना, गएको कार्तिक १० गते गरुडा नगरपालिका ४ स्थितबाट एक हजार दरको ७ थान नक्कली नोटसहित ३ जना र गएको मंसिर ३० गते चन्द्रपुर नगरपालिका वडा नं. १० बालचनपुरबाट एक हजार दरको नोट २० थान सहित १ जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ। 

नक्कली नोटको कारोबार गर्ने गिरोह नै सक्रिय रहेको प्रहरीले अनुमान गरेको छ। सोही पत्रकार सम्मेलनमा प्रहरीले धाकधम्की दिई फिरौती रकम माग्ने फतुवा विजयपुर नगरपालिका–८ बर्ष ३४ का श्रीभगवान साहलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। 

पुस १० गते देखि १८ गतेसम्म एक जना व्यापारीलाई पटक पटक फोन गरी ज्यान मार्ने धम्की सहित ५ लाख देखि ५० लाख रुपैयाँसम्म रकम मागेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो। 

पक्राउ परेका साहलाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्