Kathmandu Press

चतरामा आगामी चैतमा महाकुम्भ मेला आयोजना हुने

चतरामा आगामी चैतमा महाकुम्भ मेला आयोजना हुने

विराटनगर, पुस १९ : आगामी चैतमा सुनसरीको बराहक्षेत्र, चतरामा महाकुम्भ मेला आयोजना हुने भएको छ। प्रत्येक १२ वर्षमा चतरामा महाकुम्भ मेला आयोजना हुने गरेको छ। यसैगरी हरेक ६ वर्षमा अर्ध कुम्भमेला आयोजना हुन्छ। नेपालका प्रथम जगतगुरु भनिएका वालसन्त मोहनशरण देवाचार्यको अगुवाईमा २०५९ वैशाख १ गतेबाट चतरामा कुम्भ मेला आयोजना हुँदै आएको छ।

यो वर्ष चैत २७ गतेदेखि २०८१ वैशाख २७ सम्म कुम्भमेला लाग्ने जनाइएको छ। यसैबीच, कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले महाकुम्भ मेलाको तयारीबारे जानकारी लिएका छन्। कुम्भ मेलास्थल सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरा पुगेर मन्त्री उप्रेतीले मेलाको तयारीबारे जानकारी लिएका हुन्।

Hardik ivf

त्यस क्रममा बालसन्तले कुम्भ मेलाको तयारी धमाधम भइरहेको जानकारी गराएका थिए। मेलाका लागि भौतिक संरचना निर्माण, विद्युत, खानेपानी, सरसफाइको व्यवस्थापन, सुरक्षा प्रबन्ध, बसोबासस्थल जस्ता पक्षहरुमा तयारी भइरहेको जनाइएको छ। कुम्भ मेलामा नेपालका विभिन्न स्थानका साथै भारतबाट पनि उल्लेख्य संख्यामा श्रद्धालु भक्तजनहरु सहभागी हुने गरेका छन्।

केहीअघि मेलामा भक्तजनलाई आमन्त्रण गर्ने उद्देश्यले वालसन्तले १५ दिने पदयात्रा गरेका थिए। बालसन्तका अनुसार पदयात्राका क्रममा बराहक्षेत्रसँगै आसपासका धार्मिकस्थलको पहिचान गरी सम्भावनाको अध्ययन गर्ने र सुनसरी, उदयपुर र धनकुटामा रहेका धार्मिक क्षेत्रको विकासका लागि के गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो।

ग्रन्थहरुमा उल्लेख भएअनुसार बराहक्षेत्र, चतरा धाम क्षेत्रको महत्व उच्च रहेको छ। यहाँ नियमित रुपमा पितृ श्राद्ध, मकर स्नानका साथै अन्य धार्मिक पर्वहरुको अवसरमा भक्तजनहरुको चहलपहल हुने गरेको छ। सोही स्थानमा रहेको हनुमान मन्दिर परिषरमा हनुमान जयन्तीलगायत पर्वहरुमा विभिन्न धार्मिक अनुष्ठान समेत हुने गरेको छ।

उक्त स्थानमा भक्तजनहरुको आवासका लागि विभिन्न दाताहरुले भवन बनाएका छन्। चतरामा विभिन्न देवी देवताका मन्दिरका साथै वृद्धाहरुको हेरचाहका लागि वृद्धाश्रम समेत सञ्चालन गरिएको छ। त्यहाँ सञ्चालित वृद्धाश्रमको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीकी आमा मिथिला पाण्डेले रेखदेख गर्दै आएकी छन्।
 

प्रकाशित मिति: १७:३० बजे, बिहीबार, पुस १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्