ललितपुरको ललितमण्डप पुनर्निर्माण हुने
ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए।
ललितपुर, पुस १९ : २०७२ सालको भूकम्पमा क्षतिग्रस्त ललितपुर महानगरपालिका(४ जावलाखेलस्थित ऐतिहासिक सम्पदा ललितमण्डपको पुनःनिर्माण हुने भएको छ। ललितमण्डप छेउमा रहेका पाटी (फल्छा)र जावलाहिटी (गैरेधारा) भने ललितपुर महानगरले यसअघि नै पुनःनिर्माण गरिसकेको छ।
ललितमण्डपलाई ऐतिहासिक शैलीमा पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको ललितपुर महानगरपालिका वडा नं ४ का अध्यक्ष सन्तोष खड्काले जानकारी दिए। उनले भने, 'हाल अवस्थित भवन पञ्चायतकालमा निर्माण भएको हो। हामीले राणाकालअघिको फोटो भेट्टाएका छौँ। इतिहास झल्कने गरी ललितमण्डप पुनःनिर्माण हुनेछ।'
हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथ ललितमण्डप परिसरमै राखिन्छ। सोही परिसरबाटै मछिन्द्रनाथ जात्राको अन्तिम दिन भोटो देखाउने प्रचलन भएकाले पनि ललितमण्डपको महत्व विशेष भएको उहाँको भनाइ छ। हाल जावलाखेलमै मछिन्द्रनाथ सङ्गहालयसमेत निर्माण हुँदैछ। जुन सङ्ग्रहालयमा मछिन्द्रनाथको एतिहासिक सामग्री सङ्ग्रहित गरिनेछ।
ऐतिहासिक सम्पदासम्बन्धी जानकारी ज्यापु समाजसँग रहेकाले सोही समाजसँगको सल्लाहमा ललितमण्डपलाई कलात्मकरूपमा पुनःनिर्माण गरिने वडाध्यक्ष खड्काको भनाइ छ। उनले भने, 'पुनःनिर्माणको विषयमा नगरप्रमुखसँग कुरा भएको छ। उहाँले निर्माणका लागि चासो देखाउनुभएको छ। ज्यापु समाजसँग छलफलपछि ललितमण्डप निर्माण हुनेछ।'












