स्रोत नखुलेको साढे २१ लाख रुपैयाँसहित पक्राउ
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।
विराटनगर, पुस १९ : सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो। उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी भएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार उनले बोकेको रकमको स्रोत नखुलेको पाइएको छ।
मोटरमाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो। सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ। रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।
मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो परिमाण रकमसहित केही सातायता पक्राउ पर्ने क्रम बढेको छ। त्यस्तो रकम हुण्डी कारोबारमा संलग्न हुनेहरुले ओसारपसार गर्न लगाएको पाइएको छ।
हुण्डी कारोबारीहरुले यसअघि विराटनगरमा एकजना बालकलाई समेत रकम ओसारपसारमा प्रयोग गरेको भेटिएको थियो।












