उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग
काठमाडाैं, पुस १८ : बुटवल–भैरहवा औद्योगिक करिडोरका उद्योगीले उद्योगमा काटिएको लाइन दुई दिनभित्र जडान गर्न माग गरेका छन्।
नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेटप्लाष्ट उद्योगमा गत शुक्रबार राति लाइन काटेको थियो। त्यस क्षेत्रका उद्योगी तथा व्यवसायिहरुले पुस २० गतेसम्म विद्युत जडान नभएमा करिडोरका १९ वटै उद्योग बन्द गरेर आन्दोलनमा उत्रिने जनाएका छन्।
प्राधिकरणको भैरहवा वितरण केन्द्र र नयाँमिल वितरण केन्द्रमा ज्ञापनपत्र बुझाउदै उद्योगीहरुले आफूहरुले ट्रंकलाइन माग नगरेको, आपूर्ति पनि नभएको र प्रयोग पनि नगरेको हुँदा काटिएको लाईन जडानको माग गरेका हुन्।
उद्योगीहरुले आफूहरुले कानूनी उपचार खोजिरहेको र अदालतमा मुद्दा विचाराधीन रहेका बेला प्राधिकिरणले रुपन्देहीका दुई वटा उद्योगको लाइन काट्नु अन्यायपूर्ण व्यवहार भएको भन्दै पुस २० गतेसम्म लाइन जडान गर्न माग गरेका हुन्। सिद्धार्थ उद्योग बाणिज्य संघको ऐक्यवद्धता रहेको भन्दै संघका अध्यक्ष ठाकुर श्रेष्ठले उद्योगीले डेडिकेटेड र ट्रंक लाइन माग गरेको, विद्युत आपुर्ति गरेको र उद्योगले खपत गरेको लिखित प्रमाण पेश गर्न प्राधिकरणको वितरण केन्द्रसंग माग गरे।
प्राधिकरणको भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा १३ वटा उद्योगहरुको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको उद्योगीहरुले जनाएका छन्। ज्ञापन पत्र बुझ्ने क्रममा प्राधिकरणले उद्योगीको माग माथिल्लो निकायमा पठाउने जनाएका छन्।
प्राधिकरणले यस क्षेत्रका उद्योगले २०७२ भदौदेखि २०७६ मंसिरसम्म ट्रंकलाइनमार्फत विजुली उपयोग गरेको भन्दै वक्तौता भुक्तानी गर्न भनेको थियो। तर उद्योगीले प्रयोग नै नगरेको ट्रंकलाइन महशुल तिर्न नसक्ने जनाउदै आएका छन्।