२०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिए, ५२१ बन्दी
काठमाडौं, पुस १८ : पत्रकारले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा सन् २०२३ मा विश्वभरमा कम्तीमा ५८ जना पत्रकार मारिएका छन्।
रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) द्वारा सङ्कलित वार्षिक प्रतिवेदनले उक्त तथ्य सार्वजनिक गरेको हो। इजरायल र हमासबीचको युद्ध सुरु भएदेखि कम्तीमा १३ जना पत्रकार मारिएका छन्। यस बाहेक २०२३ डिसेम्बर १ सम्म ४५ जना पत्रकारको ज्यान गएको आरएसएफले जनाएको छ। उक्त अवधिमा विश्वभर पाँच सय २१ जना पत्रकार बन्दी जीवन बिताइरहेका छन्।
आरएसएफले समाचार संस्थामा सुरक्षा उपायहरू अपनाउनु, सुरक्षात्मक उपकरणहरूको तालिम दिनु, पत्रकारले सावधानी अपनाउनु, दण्डहीनताविरुद्धको लडाइँको प्रभाव, अन्तर–सरकारी संस्थाहरूद्वारा गरिने कार्यहरू र गैरसरकारी संस्थाहरूको कामले पनि प्रभाव पारिरहेको प्रतिवेदनमा जनाएको छ। ल्याटिन अमेरिकामा भने कामको सिलसिलामा मारिने पत्रकारको सङ्ख्यामा उल्लेखनीय गिरावट आएको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदन अनुसार पत्रकारहरूका लागि युद्ध क्षेत्रहरू बढी घातक देखिएका छन्। यस बर्ष युद्ध क्षेत्रमा समाचार सम्प्रेषण गर्ने क्रममा २३ पत्रकार मारिएका छन्। सबैभन्दा बढी पत्रकार चीन, बेलारुस र म्यानमारका बन्दीगृहमा राखिएको पनि प्रतिवेदनले औंल्याएको छ। विश्वको सबैभन्दा धेरै पत्रकार बन्दी बनाउने देश चीन रहेको प्रतिवेदनमा उल्लेख छ। चीनमा मात्र एक सय २१ मिडियाकर्मीले बन्दी जीवन बिताइरहेका छन्।