सीपबिल्डिङमा सहभागीलाई उत्पादनशील क्षेत्रमा इपिएस फारम भर्ने समय थप
आज बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ।
काठमाडौं, पुस १७ : वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले सीपबिल्डिङ क्षेत्रमा सहभागी परीक्षार्थीका लागि उत्पादनशील क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ।
आज बसेको महानिर्देशकस्तरको निर्णयअनुसार फारम भर्ने समय दुई दिन थप गरिएको विभागद्वारा आज जारी सूचनामा उल्लेख छ।
यसअघि यही पुस १३ गते जारी सूचनामा पुस १६ गतेदेखि १८ गतेसम्मका लागि फारम भर्ने समय तोकिएको थियो। नयाँ सूचनाअनुसार परीक्षार्थीले अब पुस २० गतेसम्म फारम भर्न पाउने छन्।
विभागले पुस १३ गते ललितपुर महानगरपालिका–७ बालकुमारीमा दुःखद् घटना घट्न गई दुई जनाको मानवीय क्षति हुन गएको र मृतकको अन्तिम संस्कारमा फारम भर्ने परीक्षार्थी समावेश हुनसक्ने देखिएको तथा फारम भर्न सुरु भएको पहिलो दिन प्राविधिक कारणले प्रणालीमा समस्या देखिएकाले दुई दिनको समय थप गरिएको जनाएको छ।
प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, पुस १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












