जित्नैपर्ने दबाबबाट बचौं : बालेन
उनले प्रतियोगितामा विस्तारै प्रतियोगीहरुको संख्या बढाउनुपर्नेमा जोड दिएरै आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीलाई प्रतियोगितामा भाग लिन आग्रह पनि गरे।-1704183497.jpg)
काठमाडौं, पुस १७ : काठमाडौं महानगरपालिकाका प्रमुख बालन शाहले खेलकुदमा मेडल जित्नुभन्दा पनि विद्यार्थीले आफूलाई शारीरिक, मानसिक र भावनात्मक रुपमा बलियो बनाएर खेल क्षेत्रमा अरुलाई आकर्षित गराउनुपर्नेमा जोड दिएका छन् ।
महानगरद्वारा मंगलबार आयोजित तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगितामा उनले खेलाडीहरुलाई मेडल जित्नैपर्ने दबाबबाट मुक्त गर्नुपर्ने धारणा राखे। उनले प्रतियोगितामा विस्तारै प्रतियोगीहरुको संख्या बढाउनुपर्नेमा जोड दिएरै आगामी दिनमा धेरै भन्दा धेरै विद्यार्थीलाई प्रतियोगितामा भाग लिन आग्रह पनि गरे।
‘यो प्रतियोगितामा ३२ सयभन्दा बढी विद्यार्थीले भाग लिनुभएको छ । आगामी दिनमा यो संख्या बढाएर विस्तारै १० हजार विद्यार्थीहरुले भाग लिनुहोस्,’ उनले भने, ‘मेडल ल्याउनु ठूलो कुरा होइन, तपाईंहरुले खेल्दै जाँदा अरुलाई इन्स्पायर गराएर आफूसँगै खेल्ने बनाउनु ठूलो कुरा हो । आफूसँगै अरुलाई इन्स्पायर गर्नुस्।’
उनले खेलाडी विद्यार्थीलाई ठूलाठूला खेल जित्नलाई आफूले दबाब नदिने भन्दै थपे, ‘खेलकूद भनेको शारीरिक रूपमा दुरुस्त, मानसिक रुपमा अलर्ट र भावनात्मक रुपमा व्यक्तिलाई स्टेबल बनाउने चिज हो। तपाईंहरुलाई खेलकूदले त्यो चिजको विकास गराओस्।’
आजबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चल्ने छ । महानगरपालिका भित्रका ८३ विद्यालयका ३ हजार २ सय ५० जना छात्रछात्राले खेलका विभिन्न विधामा सहभागिता जनाएका छन्।












