सामुदायिक वनमा हात्ती मृत अवस्थामा भेटियो

विराटनगर, पुस १६ : मोरङको सुन्दरहरैँचाको एउटा सामुदायिक वनमा एउटा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ। सुन्दरहरैँचा नगरपालिका–१० स्थित जनजागरण सामुदायिक वनमा करिब १२ वर्ष उमेरको जंगली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले भाले हात्ती गोली लागेर मृत्यु भएको अवस्थामा भेटिएको बताए पनि प्रहरीले भने यसबारे अनुसन्धान भइरहेको जनाएको छ। डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेले घटनास्थल पुगेर यसबारे अनुसन्धान थालिएको बताए। अनुसन्धानका क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षका चिकित्सक र प्राविधिहरु पनि खटिने भएका छन्।
गत सातादेखि तीन दर्जनभन्दा बढी संख्यामा हात्तीहरु मोरङको सुन्दरहरैँचा र बेलबारी क्षेत्रमा आउजाउ गरिरहेको पाइएको थियो। जंगली हात्तीले स्थानीय बासिन्दाको घर भत्काउनुका साथै बाली खाइदिने र अरु सम्पत्ति नष्ट गर्ने गरिरहेका छन्। दुई सातायता मोरङ, झापा र सुनसरीमा गरी हात्तीको आक्रमणमा परी ७ जनाको ज्यान गइसकेको छ। कतिपय गाउँहरुमा हात्तीको उपद्रोबाट बच्न गाउँलेहरुले रात्रि गस्ती पनि गर्ने गरेका छन्।












