कोशी अस्पतालको एआरटी क्लिनिक र एड्स हेल्थ केयर फाउन्डेसनबीच समझदारी

विराटनगर, पुस १५ : कोशी अस्पतालको एआरटी क्लिनिक र एड्स हेल्थ केयर फाउन्डेसनका बीच सेवा सम्बन्धी साझेदारी गर्ने सहमति भएको छ। एचआइभी संक्रमितलाई सहयोग पुर्याउने उदेश्यले फाउण्डेसन र कोशी अस्पतालको एआरटी क्लिनिकबीच सेवामा सहकार्य गर्ने समझदारी गरेका हुन्।
उक्त सहकार्यको प्रारम्भ भएको घोषणा गर्दै स्वास्थ्य तथा जनसंख्या सचिव डा। रोशन पोखरेलले दुई पक्षबीचको सहकार्यले एचआईभी संक्रमितलाई राहत पुग्ने बताए। उनले स्वास्थकर्मीमा नै अझै पनि एचआइभी संक्रमित उपचार गर्दा आफुलाई रोग सर्न सक्छ भन्ने डरका कारण बिरामी रेफर भएर अन्यत्र जान बाध्य रहेको अवस्थाहरू आएकोप्रति चिन्ता व्यक्त गरे।
कार्यक्रममा डाक्टर उन्नत श्रेष्ठले एड्स हेल्थ केयर फाउन्डेसनले अन्य भिन्न काम गर्ने नभई अस्पतालमा भइरहेको सेवालाई बिस्तार र ब्यवस्थित गर्न सहयोग पुर्याउने जनाएको छ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर संजयकुमार ठाकुरले संक्रमण रोक्दै नयाँलाई संक्रमण हुन नदिन विशेष अभियान थाल्नुपर्ने बताए। कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा।चन्द्रलाल झाले फाउण्डेसनको सहयोगले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने बताए।
सरकारले एचआईभी संक्रमितहरूलाई निःशुल्करुपमा एआरटी वितरण गर्दै आएको छ। तर संक्रमितहरूले भने अहिले पनि खुलेर त्यस्तो एआरटी लिएर खाने सामाजिक बातावरण नबनेको गुनासो गर्दै आएका छन्।












