‘ऋण लिएर नतिर्ने प्रवृत्ति नै लघुवित्तको मुख्य समस्या हो’
सहकारी भनेको स्वनियमनमा चल्ने संस्था हुन्। त्यो भन्ने वित्तिकै मैले आफैंलाई नियमन गर्ने हो। बचतकर्ता पनि बढी प्रलोभनमा परिराख्नुभएको छ। सहकारीमा पनि हर्ताकर्ता राजनीतिकर्मी नै धेरै छन्।विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले लघुवित्तीय संस्थाहरुबाट ऋण लिएर नतिर्ने उद्देश्यले बनाइएका संघर्ष समितिहरु आफ्ना लागि चुनौती बनेको बताएका छन्। लघुवित्तीय संस्थाहरुले पछिल्लो समय भोग्दै आएको समस्या, पछिल्लो समय सहकारीको अवस्थाबारे छोटो कुराकानी गर्दै उनले नेपालमा संस्थाहरुबाट ऋण लिएपछि तिर्न पर्दैन भन्ने प्रवृत्ति बढेकाले चुनौती थपिएको बताए।
लघुवित्तीय संस्थाहरुका मुख्य समस्या के हो?
तपाईं हामीले बुझिरहेकै कुरा हो, ऋण लिएपछि तिर्नु पर्दैन भन्ने प्रवृत्ति नै अहिलेको मुख्य समस्या हो। हाम्रो मात्रै एउटा यस्तो देश हो, जहाँ पैसा लिएर तिर्न पर्दैन भन्ने मान्यता छ। मलाई अचम्म लाग्छ। अहिले त अलि साम्य पनि भैसकेको छ। ऋण लिएर तिर्न पर्दैन भनेर आन्दोलनहरु पनि भैरहेका छन्। अहिले तितरवितर भएको जस्तो देखिन्छ। मान्छेले बुझ्दै पनि गैरहेका छन्। मुख्य समस्या भनेकै मान्छेले संस्थाहरुबाट पैसा कर्जा लिइसकेपछि तिर्न पर्दैन कि भन्ने हो। प्रकृयागत रुपमा लिएको कर्जा नउठ्दा कर्मचारीले भोग्नुपरेको समस्या नै हाम्रा लागि मुख्य समस्या बनेको छ।
पछिल्लो समय धेरै संख्यामा वित्तीय संस्थाहरु मर्जर हुन थालेका छन्। मर्जर प्रणालीले लघुवित्तीय संस्थामा कस्तो प्रभाव पार्छ?
राष्ट्र बैंकले पनि संस्थाहरुमा पूँजीको आधारमा मर्ज गराउन खोजेको हो। यसले संस्थागत सुशासन, पूँजीको वृद्धि, फाइनान्सिङ डुब्लिकेसन जुन छ, त्यसलाई घटाउनको लागि मर्जरकोे नीति लिएको हो। विभिन्न संस्थाहरु मर्ज भएका पनि छन्। हामी मर्जर मर्जर भन्छौं तर मर्ज हुने संस्थाहरुको डाटा र कम्पनी ठूलो भएपनि मर्जरको जुन मर्म छ त्यो अहिलेसम्म पूरा भएको चाँिह छैन। संस्थाहरु मर्ज भएपनि स्टाफहरुका बीचमा भावनात्मक रुपमा संलग्न भएको देखिँदैन।
दुई वित्तीय संस्थाहरु मर्जर भैसकेपछि ठूलोले सानोलाई हेप्ने गर्छन् भनिन्छ नि? यसमा तपाईंको धारणा के छ?
यो सामान्य कुरा हो। ठूला माछाले साना माछालाई खान्छ भने जस्तै जुनसुकै ठाउँमा पनि कर्मचारीमा मनोवैज्ञानिक रुपमै म ठूलो हुँ, तँ सानो होस् भन्ने अहम् देखिन्छ। त्यो भनेको ठुलाले सानालाई हेपेको हो। विस्तारै यो समस्या पनि समाधान हुन्छ। एक त मनोवैज्ञानिक रुपमा आफैंले म सानो हुँ भनेर हेपिएको हो। दिएको काम बराबर गर्यो भने कसैले कसैलाई हेप्नुपर्छ जस्तो मलाई त लाग्दैन।
लघुवित्तकर्मीका लागि राज्य र राष्ट्र बैंकले के गरिदिने हो भने परिस्थिति सहज बन्छ भन्ने तपाईंलाई लाग्छ?
राष्ट्र बैंकले यही नै ठ्याक्कै गरिदिए हुन्थ्यो भन्ने पनि छैन। हामीलाई किनभने जति गरे नपुग्ने छ। अहिले मंसिर २२ गते जुन कर्जा पुनर्तालिकीकरण ल्याएको छ, जसले केही समस्यालाई सम्वोधन गरेको पनि छ, जुन स्वागतयोग्य छ।
राज्यले सिधै लघुवित्तलाई केही गर्न क्छ जस्तो लाग्दैन। मुख्य समस्या भनेको कोष स्थापनाको हो। जुन बैंकबाट ऋण लिन्छौं, त्यसलाई व्यवस्थित गर्न राज्यले दुई, तीन प्रतिशत व्याजमा गरिदिएर कोषको स्थापना गर्दिने हो भने त्यसको सकारात्मक प्रभाव सिधै ऋणीलाई पनि हुन जान्छ। राज्यले मुख्य गरी कोषकै व्यवस्था गर्दिनुपर्छ।
सहकारीका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेका थुप्रै घटनाहरु भएका छन्। बचतकर्ताले कुनै पनि सहकारीलाई अहिले पत्याउने अवस्था नै छैन, यसमा दोष कसकाे?
सहकारी भनेको स्वनियमनमा चल्ने संस्था हुन्। त्यो भन्ने वित्तिकै मैले आफैंलाई नियमन गर्ने हो। बचतकर्ता पनि बढी प्रलोभनमा परिराख्नुभएको छ। सहकारीमा पनि हर्ताकर्ता राजनीतिकर्मी नै धेरै छन्। त्यसले गर्दा बचतकर्तालाई प्रलोभनमा पारेर धेरैको बिचल्ली बनाइएको छ। हाम्रो कानून पनि यस्तो फितलो छकि पैसा खाएपछि समात्ने निकाय पनि मौन जस्तै स्थिति देखिएको छ।
सहकारी तथा लघुवित्तीय संस्थामा स्रोत नखुलेका रकम जम्मा गरिन्छ भन्ने जनमानसमा धारणा बनेको छ, यो कत्तिको जायज हो?
राष्ट्र बैंकमा १० लाख भन्दा बढी रकम जम्मा गर्दा बकाइदा परिचय पत्र माग्छ। अहिलेत १ लाख जम्मा गर्नेको पनि परिचय पत्र मागिरहेको छ। शहकारीमा स्रोत नखुलेको पैसा आउन चाँही आउँछ नै म प्रमाण दिन त सक्दिन। हामीले पनि सुनेकौ हो कुरा। तर, कारोबार गर्न सहज हने भएकै कारण मान्छेले सहकारीमा पैसा राख्ने हो। तपाईंले राखेको कुरा अलिअलि ठिक हो जस्तो लाग्छ।
लघुवित्तलाई पनि मिटरव्याजी साहु हो भनिन्छ नि?
यसमा कस्तो मान्छेले यो कुरा भन्यो भन्ने कुरा महत्वपूर्ण हो। लघुवित्त भनेको त वित्तीय पहुँच नै हो भन्छु म। गाउँगाउँसम्म पुगेर मान्छेलाई कर्मसियल बैंकले कर्जा दिदैन, त्यो दिने भनेको लघुवित्तीय संस्थाले नै हो। अब गाउँमा साहुमहाजनले नै कर्जा लगानी गरेका छन्। उनीहरुले विरुद्धमा केही त बोल्न पर्यो। लघुवित्त मिटरव्याजी साहु हो भन्ने कुरा नबुझ्ने मान्छेको मानसिकताको उपज हो भन्छु म चाहिँ।
राम्रो सँग नबुझ्नेले आरोप लगाउनका लागि भनेको कुरा हो यो। हामी तपाईंले भने जस्तो मिटरव्याजी साहु महाजन कुनै हिसावले होइनौं। एकदम गलत कुरा हो यो। हाम्रो सबै कुरा पारदर्शी छ, हिसाब नै गरेर सिस्टममा हेर्न मजाले सकिन्छ त। हिसाब चाहिँ नगर्ने अनि चिया पसलमा कसैले गएर बोल्ने गरेको आधारमा कहाँ गलत भइन्छ त हामी?