११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं, पुस १४ : नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ। पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी प्रशासक कविता अर्यालले स्क्रिनिङ गरिएकामध्ये सात प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिए। उनका अनुसार ललितपुर, पाल्पा, सर्लाही, महोत्तरी र रौतहट जिल्लामा उक्त स्क्रिनिङ गरिएको छ। सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ।
पाठेघरको क्यान्सर विश्वमा पाँचौँ नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ। उहाँका अनुसार पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ। सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि १० वर्षदेखि १४ वर्ष उमेर समूहका करिब १० हजार किशोरीलाई गत भदौ २७ गते एचपिभी खोप अभियान सञ्चालन गरेर खोप लगाइको थियो। महिलामा असुरक्षित यौनसम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।
सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि ९० प्रतिशत महिलालाई १५ वर्षको उमेरभित्र एचपिभि खोप लगाउने, ७० प्रतिशत महिलाहरुको ३५ वर्ष उमेरमा एक पटक खोप लगाउने र फेरि ४५ वर्ष उमेरमा स्क्रिनिङ्ग गर्ने तथा ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ। यो लक्ष्य पुरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने जनाइएको छ।
मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ अनुसार ३० वर्षभन्दा माथिका सामान्य महिलाको स्क्रिनिङ र एचआइभी सङ्क्रमित भएका महिलाको २५ वर्ष उमेरदेखि नै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ। निर्देशिका अनुसार सामान्य महिलाको हरेक पाँच वर्षमा र एचआइभी सङ्क्रमित भएका महिलाको हरेक तीन वर्षमा स्क्रिनिङ गरिनेछ।
स्त्रीरोग क्यान्सर विशेषज्ञ डा सरिता घिमिरले सुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने भएकाले बताउनुभयो। उनले महिनावारी नभएको बेला रगत बग्ने, यौग अङ्गबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्नेजस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको बताइन्।
उनले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन्। धेरै जसो ४० वर्षमाथिका महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ। उनले पाठेघर फ्याकेपछि पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने गलत धारणाले धेरै महिलाले पाठेघर फालेको समेत बताइन्। 'पाठेघर फालेकालाई पनि क्यान्सर हुने सम्भावना हुन्छ,' उनले भने।
प्रशासक अर्यालले ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपिभी) ले शरीरमा आक्रमण गरेको १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सर देखापर्ने बताउनुभयो। “एचपिभी भाइरसलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भगाउने गर्दछ”, उनले भने, “भाइरसका कारण २० प्रतिशत महिलालाई मात्र क्यान्सर हुने सम्भावना हुन्छ।” एचपिभी भाइरसले ९९ प्रतिशत र असुरक्षित यौनसम्पर्क, धूमपान तथा सानै उमेरमा विवाह गर्नाले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ।












