Kathmandu Press

स्रोत नखुलेको १९ लाख ९० हजारसहित हुण्डी कारोबारी पक्राउ

विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 
स्रोत नखुलेको १९ लाख ९० हजारसहित हुण्डी कारोबारी पक्राउ

विराटनगर, पुस १२ : प्रहरीले स्रोत नखुलेको १९ हजार ९० लाख रुपैयाँसहित एकजनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-६ केशलिया मार्गमा ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। 

सुनसरीको देवानगञ्ज गाउँपालिका–५ का उनी हुण्डी कारोबारमा संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा साहलाई विराटनगर केशलिया मार्गबाट पक्राउ गरेको हो। 

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार साहलाई बरामद गरिएको नगद र उनले प्रयोग गरेको मोटरसाइकल सहित आवश्यक कारवाहीको लागि राजस्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ। अवैध हुण्डी कारोवारलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले त्यसमा संलग्न कारोबारीहरूको सुक्ष्म अनुसन्धान गरी पक्राउ गर्न विशेष अपरेशन सञ्चालन गरेको जनाएको छ।

यसक्रममा गत कात्तिक १४ गते १६ वर्षीय बालकलाई नगद २१ लाख ८७ हजार रकमसहित पक्राउ गरिएको थियो। उनलाई हुण्डी कारोबारीहरुले प्रयोग गरेको पाइएको थियो। यसैगरी, यसअघि विराटनगर–१५ सुडी वस्ती बस्ने धर्मानन्द साहलाई ४ लाख ७५ हजारसहित पक्राउ गरिएको थियो भने विराटनगर–१५ का रञ्जितकुमार साहलाई ९ लाख २० हजारसहित पक्राउ गरिएको थियो।

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, पुस १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्