रोयल इन्फिल्डले ल्यायो ३५० सिसीको मिटिओर बाइक
काठमाडौं, पुस ११ : रोयल इन्फिल्डले नेपाली बजारमा मिटिओर ३५० सीसीका तीन नयाँ मोटरसाइकल पुनः सार्वजनिक गरेको छ। रोयल इनफिल्डका बाइकको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नक्सालस्थित शोरुममा बुधबार मिटिओर फायरबल, मिटिओर स्टेलर र मिटिओर सुपरनोभा सार्वजनिक गरेको हो।
जे प्लेटफर्ममा निर्मित यी मोटरसाइकलमा ३४९ सीसी सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड फोर स्ट्रोक, एयर–आयल कुल्ड रहेको कम्पनीले जनाएको छ।उक्त इन्जिनले अधिकतम ६१०० आरपीएममा २०.२ ब्रेकर्स पावर र ४००० आरपीएममा २७ एनएमको टर्क जेनेरेट गर्ने र डुअल डिस्कब्रेक दिने जानकारी कम्पनीले दिएको छ।
१५ लिटर फ्युल ट्यांक क्षमताका यी मोटरसाइकलले प्रति लिटर औसत ४० किलोमिटर माइलेज दिने पनि जनाइएको छ। कम्पनीले मिटिओर फायरबलको मूल्य ५ लाख ५० हजार, मिटिओर स्टेलरको ५ लाख ५५ हजार र मिटिओर सुपरनोभाको मूल्य ५ लाख ६५ हजार तोकेको छ। कम्पनीले बिक्रीका लागि सबै भेरियन्टको बुकिङ समेत खुला गरिएको जनाएको छ।